• १३ साउन २०८१, आइतबार

कृषकहरुले मुलामा पाए राम्रो मूल्य

blog

थाहा नगरपालिका –७ का किसानले उत्पादन गरेको मुला । तस्बिर : राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, भदौ १५ गते । एक महिना अघिसम्म मूल्य नपाएको गुनासो गर्दैआएका मकवानपुरको थाहा नगरपालिका ७ र ८ का किसानले अहिले मुलामा राम्रो मूल्य पाएपछि दङ्ग परेका छन् । 

एक महिनाअघिसम्म मुला प्रतिकेजी १५ रुपियाँमा बिक्री गर्न धौधौ परेका किसानले अहिले खतेबारीमा नै पाँच गुना मूल्य पाएका हुन् । बिहीबार बारीबाट प्रतिकेजी ६० रुपियाँमा बिक्री गरेका किसानले शुक्रबार प्रतिकेजी ७५ रुपियाँमा ग्रिन मुला बिक्री गरेका छन् । 

स्थानीय व्यवसायी रत्नबहादुर गोलेले यस क्षेत्रका किसानले तरकारीमध्येमा मुलामा राम्रो मूल्य पाएको मात्र होइन, भाउका दृष्टिले तरकारीको राजा नै बनेको बताउनुभयो । कहिलेकाहीँ त प्रतिकेजी ५ रुपियाँमा पनि बिक्री नभएर फाल्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, ‘साउनको १५–१६ पछि मुलाको मूल्य उकालो लागेको हो ।’

थाहा नगरपालिका –७ का अधिकांश किसान मुला खेतीमा संलग्न छन् । केही समयअघि बन्दा फाल्नुपर्ने अवस्था थियो, अहिले प्रतिकेजी ५० रुपियाँ खेतबारीबाटै बिक्री भएको उहाँले सुनाउनुभयो । 

वडा ७ र ८ बाट दैनिक अहिले ३० टनसम्म मुला बिक्री हुनेगरेको छ । बिक्री भएको मुलामध्ये अधिकांश काठमाडौँमा केही पोखरा, हेटौँडालगायतका बजारमा बिक्री हुँदै आएको छ । अहिले व्यापारीहरु थाहा नगरको वडा ७ र ८ का गाउँमा नै पुगेर मुला खरिदगरी लैजाने गरेका छन् ।