• २० असोज २०८१, आइतबार

सीमान्तकृत चेपाङ समुदायकाे न्वाँगी पर्व

blog

न्वाँगी पर्वमा प्रमुख आतिथ्यका लागि निमन्त्रणा दिँदै चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङसहित पदाधिकारीहरु ।

राममणि दाहाल

हेटौँडा, भदौ १५ गते । सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले आफ्नो सांस्कृतिक पर्व छोनाम (न्वाँगी) हर्षोल्लासपूर्वक मनाउन तयारी थालेका छन् । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते शुभकामना आदानप्रदान, प्रकृतिको पूजा, आफ्नो खेतबारीमा उत्पादन भएका खाद्यान्न खाएर र रातभर जाग्राम बसेर न्वाँगी पर्व मनाउने गर्छन् ।

घरमा नयाँ अन्न भित्र्याएको खुशीयालीमा मनाइने छोनाम (न्वाँगी) पर्व चेपाङ समुदायले आफ्नो घरसँगै यो पटक धादिङ जिल्लाको गजुरी गाउँपालिका ५ स्थित च्याङ्लीमा सामूहिक रुपमा मनाउने भएका छन् । 

नेपाल चेपाङ सङ्घको आयोजनामा आगामी शुक्रबार गजुरी गाउँपालिका ५ स्थित च्याङ्लीमा चेपाङ समुदायले एकत्रित भएर सामूहिक रुपमा पर्व मनाउने निर्णय गरिएको हो । चेपाङ समुदाय बाहुल्य रहेको बागमती प्रदेशको मकवानपुर, धादिङ र चितवनमा बागमती प्रदेश सरकारले पर्व मनाउन चेपाङ समुदायलाई सार्वजनिक बिदा गत वर्षदेखि दिँदै आएको छ । 

यसअघिका वर्षहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले पालिकामा सार्वजनिक बिदा दिँदै आएको थियो । चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष एवम् संविधान सभाका सदस्य गोविन्दराम चेपाङले न्वाँगी पर्वमा शुभकामना आदानप्रदानसँगै विधिपूर्वक पूजा र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाइने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रमुख अतिथि र संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलाई अतिथिका रुपमा आमन्त्रण गरिएको छ । उहाँले भन्नुभयो, "चेपाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न पर्व मनाउन लागेको हो ।"

प्रदेश सरकारले यो वर्ष भदौ २२ गते न्वाँगी पर्व मनाउन चेपाङ समुदायलाई सार्वजनिक बिदा दिने निर्णयसहित प्रदेश राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।