• १२ साउन २०८१, शनिबार

उपप्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

गोर्खा सैनिकका माग सम्बोधन गर्नुपर्छ : उपप्रधानमन्त्री

blog

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्नुहुँदै संयुक्त अधिराज्यका राजदूत रोब फेन । तस्बिर : मन्त्री श्रेष्ठको निजी सचिवालय

काठमाडौं, भदौ १५ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा राजदूत फेनलाई स्वागत गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदूतको कार्यकाल सफलताको शुभकामना दिनुभयो ।

त्यसक्रममा राजदूत फेनले समेत मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताउनुभयो । बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्भाव रहेको र उक्त सद्भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उहाँको भनाइ थियो ।


उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैं साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताउनुभयो । छ दशकको लामो राजनीतिक सङ्घर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासको माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मूल कार्यभार रहेको उहाँले बताउनुभयो । यसका लागि नेपालका विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने भएकोले यसलाई दिगो बनाउन मैत्री राष्ट्रहरूको सहयोग थप महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । वर्तमान सरकार सुशासन प्रत्याभूतिका लागि आक्रामक रूपले लागेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

राजदूत फेनले नेपालको संविधानको विश्वले प्रशंसा गरेको बताउँदै नेपाल सरकारको प्राथमिकता तथा नीति र बेलायती सहयोगबीच तादात्म्य रहेको धारणा व्यक्त गर्नुभयो । सामाजिक न्याय, महिला हिंसाविरुद्धको अभियान र नेपालको भौतिक विकासमा बेलायती सहयोग केन्द्रित रहेको र आफू नेपालमा रहुन्जेल प्राचीनकालदेखि दुई देशबीच रहिआएको सम्बन्ध अझ बलियो बनाउन प्रयासरत रहने विश्वास उहाँले दिलाउनुभयो ।


उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउन आफू र आफ्नो मन्त्रालयबाट सबै सहयोग रहने बताउनुभयो । साथै, गोर्खा सैनिकको मागलाई सम्बोधन गर्दै यस विषयमा न्यायोचित निष्कर्षमा पुग्नुपर्ने धारणा राख्नुभयो । जवाफमा राजदूत फेनले आफू नेपाल आउनु अगाडि बेलायतका लागि नेपाली राजदूतसँग गोर्खा सैनिकका बारेमा बेलायतमा छलफल गरेको र यस विषयलाई चाँडै निष्कर्षमा पुर्‍याउन आफ्नो प्रयास रहने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले राजदूत फेनलाई नेपाली भाषाप्रतिको लगावका लागि धन्यवाद दिनुहुँदै थप पोख्त हुन शुभेच्छा दिनुभयो ।