• २० असोज २०८१, आइतबार

मनाइयो गाईजात्रा

blog

काठमाडौँ, भदौ १५ गते । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना बिहीबार काठमाडौँ उपत्यकालगायत देशभर मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाउने परम्परा रहँदै आएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित स्थानीय मठमन्दिर र देवालय  परिक्रमा गराउने र दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ । 

यसरी दिवङ्गत व्यक्तिको सम्झना गर्दै गाईजात्रा निकाल्दा उनीहरूको आत्मले सहजै वैतरणी पार गर्न सक्छन् भन्ने धार्मिक विश्वास पनि समाजमा रहेको छ । भक्तपुरमा भने घिङ्ताङ सिघि नाचसहितको जात्रा मनाउने गरिन्छ । भक्तपुरमा बुधबार नै गाईजात्रा निकाल्न सुरु गरिएको थियो । मल्लकालीन राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सहरका अन्य बासिन्दाले पनि यस्तै शोक बेहोरिरहेका छन् भन्ने देखाएर रानीको चित्त बुझाउन गाईजात्राको परम्परा थालेको इतिहासमा उल्लेख गरिएको छ । 

यसरी सहरका गल्ली गल्लीबाट परिवारका दिवङ्गत सदस्यको नाउँमा गाईजात्रा निकाल्द पनि रानीको चित्त बुझाउन नसकेपछि राजाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउन लगाएका थिए । सोही परम्परा अनुसार अहिले पनि गाईजात्राको दिन अनेकौँ रूपरङ्ग र वेषभूषा बनाएर हिँड्ने चलन रहेको छ । यस दिन प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा भजनकीर्तन गर्ने परम्परा रहेको छ । 

यसैबिच रोटरी क्लब अफ न्युरोड सिटी काठमाडौँले हनुमानढोका परिसरमा बिहीबार दिनभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । क्लबले नेपाली सेनाको सार्दुल जङ्ग गुल्मसँगको सहकार्यमा स्वास्थ्य परीक्षण, रक्तदान तथा पिउनेपानी वितरण गरेको जनाएको छ ।