बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी), भदौ १४ गते । धार्मिक पर्यटकीय तीर्थस्थल रामधुनी मन्दिर आउने सडक बिग्रिदा तीर्थयात्री र स्थानीय यात्रुलाई समस्या भएको छ ।
झुम्का नहरदेखि रामधुनी मन्दिरसम्मको सडक खाल्डाखुल्डी परेर बिग्रिदैगएको छ । रामधुनी मन्दिरदेखि झुम्का नहरसम्म साना–ठुला गरी एकसय २५ भन्दा बढी सडकमा खाल्डाखुल्डी परेका छन् । सम्बन्धित निकायले बाटो मर्मत नगर्दा बाटो बिग्रिँदै गएको हो ।
तीन महिनादेखि सडक बिग्रिदा समेत स्थानीय सरकार रामधुनी नगरपालिकाले मर्मतमा चासो नदिँदा दिनदिनै बाटो बिग्रँदै गएको छ । रामधुनी मन्दिरमा आउने बाटो बिग्रिदा दर्शन गर्न आउने आन्तरिक र वाह्य तीर्थयात्रीलाई समस्या हुने गरेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो ।
प्रकाशपुर, राजावास, सालवनी, इकाईका स्थानीयलाई पूर्व–पश्चिम राजमार्गको झुम्कासँग जोड्ने छोटो दूरीको सडक मर्मत नहुँदा तीर्थयात्री र स्थानीयलाई समस्या हुनेगरेको स्थानीय अर्जुन अधिकारीले बताउनुभयो ।
रामधुनी नगरपालिका नगर प्रमुख शङ्करलाल चौधरीलाई रामधुनी सडक बिग्रिएको बारे प्रश्न गर्दा उहाँले भन्नुभयो, “बिग्रेको सडक अब मर्मत गर्छौँ । गाउँको सडक हो अलि–अलि बिग्रिहाल्छ, चाँडै मर्मत गर्न ५० लाख बजेट छुट्याएको जानकारी दिनुभयो ।
रामधुनी मन्दिर आफ्नै किसिमको महत्त्व र अस्तित्व बोकेको एउटा धार्मिक पौराणिक ऐतिहासिक धरोहरका रूपमा परिचित रहेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव रामप्रकाश कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक मर्मत गर्न अझै ढिलो गरे केही दिनपछि गाडी चल्दैन । सडकमा परेका खाल्डाहरू ठुलो हुँदैगइरहेको छ ।
हिन्दु धर्मावलम्बीको पौराणिक भनाइअनुसार त्रेतायुगमा श्री रामचन्द्र यस तपोवनको पूण्यस्थलमा वनवासको क्रममा धुनी लगाएर एक रात बास बसेको र बसेको स्थान छाडी हिँड्दा आफ्ना पाउका एक जोर खराऊ छाडि गएको भन्ने कथन छ ।
सुनसरीको रामधुनी नगरपालिका –४ रहेको मन्दिर वराहक्षेत्र नगरको वडा ८, ९, १०, भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १ र इनरुवा नगरपालिकाको वडा ८ को ३ हजार २ सय बिघा क्षेत्रफलमा फैलिएको रामधुनी वनको बीच भागमा रामधुनी मन्दिर अवस्थित छ ।