• २० असोज २०८१, आइतबार

रक्षाबन्धनको रौनक

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ १३ गते । सद्भावको सहरका रूपमा परिचित बाँकेको नेपालगन्जमा चाडपर्वको रौनक सुरु भएको छ । यतिबेला रक्षाबन्धनका लागि सहरको सदरलाइन र बागेश्वरी मन्दिर लाइनलाई झकिझकाउ बनाएर सजाइएको छ । जुनसुकै धर्मविशेषको चाडपर्व आए पनि नेपालगन्ज सहरको त्रिवेणीमोड लाइन र बागेश्वरी मन्दिर लाइन सजाउने गरिन्छ । 

अहिले हिन्दु धर्मावलम्बीहरूको पर्व रक्षाबन्धनका लागि पसलहरू सञ्चालन गरेर राखीको बिक्रीवितरण तीव्र पारिएको छ । भाइबहिनीको पवित्र स्नेह एवं अटुट बन्धनको प्रतीक रक्षाबन्धनको पर्वलाई लिएर त्रिभुवन चौकदेखि त्रिवेणीमोडसम्म सडकको बिचमा विशेष पसलहरू खोलिएका छन् । रङ्गीबिरङ्गी राखी अनि विभिन्न प्रकारका मिठाई तथा फलफूलले बजारमा रौनकता बढाएको छ भने मानिसहरूको भिडभाडले बजार अरू बेलाभन्दा बढी चहलपहल भएको छ । बजारमा ५० रुपियाँदेखि २०० रुपियाँ वा सोभन्दा अधिक मूल्यसम्मको विभिन्न खाले राखीहरू सजाइएका छन् । रक्षाबन्धन पर्वलाई दृष्टिगत गरी जिल्ला प्रशासनले ठाउँ ठाउँमा चेकजाँचमा कडाइ गरिरहेको छ । 

नेपालगन्ज सदरलाइनका स्थानीय हासिम हलवाईले हरेक चाडपर्वमा सदरलाइनमा विशेष सजावट हुने गरेकाले यसबाट नै सद्भाव बढेको बताउनुभयो । उहाँले सबैका चाडपर्व र धर्म संस्कृतिप्रति सबैको सम्मान र स्नेह रहेकाले नै यो सहरलाई सद्भावको सहर भनिएको बताउनुभयो ।