• १३ साउन २०८१, आइतबार

च्याउ खेतीको आकर्षण : लगानी थोरै, आम्दानी धेरै

blog

विक्रीका लागि तयार पारिएको कन्ये च्याउ । तस्बिर : मिना कंडेल

मीना कंडेल

कावासोती, भदौ १२ गते । पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । च्याउ खेती गर्ने कृषक मेहनत गरेमा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नेगरेका छन् । 

कावासोती नगरपालिका–८ मा रहेको ठकुरी सेन एग्रोफार्मका सञ्चालक ६० वर्षीय टीकाप्रताप सेन ठकुरी विगत तीन वर्षदेखि च्याउखेतीमा नै रमाइरहनु भएको छ । उहाँको दैनिकी च्याउ विक्री वितरणमा बित्नेगरेको छ । 

हरेक दिन बिहान च्याउ प्याकेजिङमै समय बिताउने ठकुरीले पहिले समयको सदुपयोगका लागि मात्रै घरमै च्याउ खेती सुरु गर्नुभएको थियो । तर अहिले भने व्यावसायिक रूपमै च्याउको खेती सुरु गर्नुभएको हो । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले नै छेक्दो रहेछ । मात्र काम गर्ने जोस, जाँगर चाहिँदो रहेछ” टीकाप्रतापले भन्नुभयो । 

केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले नै छेक्दो रहेछ । 

स्थानीयस्तरमै च्याउखेती गरेर स्थानीय उपभोक्तालाई ताजा च्याउ उपभोग गराउने उद्देश्यले नै च्याउ खेती गरेको ठकुरीले बताउनुभयो । तीन वर्षअघि २२ लाख रुपियाँको लगानीमा च्याउखेती सुरु गरेर उहाँले राम्रो आम्दानी गरिरहनु भएको छ । उहाँले कन्ये च्याउ होलसेलमा प्रतिकेजी दुईसय रुपियाँमा बेच्ने गर्नुभएको छ । 

कन्ये च्याउ नवलपुरमा नै खपत हुनेगरेको छ । उहाँको कृषिफार्ममा च्याउ लगाउन १० वटा टनेल छन् । एउटै टनेलबाट उत्पादित च्याउबाट पहिलो लटमै दुई लाख रुपियाँसम्म आम्दानी हुनेगरेको उहाँको भनाइ छ । च्याउ फार्ममा उहाँले दुई जनालाई रोजगारी दिनुभएको छ । 


ती दुई जना कामदारले च्याउ उमार्नका लागि प्याकिङको काम गर्नुहुन्छ भने अन्य पाँच जनाले सहयोग गर्नुहुन्छ । यस्तै गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउखेती गर्दै आइरहनुभएको छ । सुरुमा च्याउखेती गर्न निकै गाह्रो महसुस भएको अनुभव उहाँले सुनाउनुभयो ।

अनुभव बटुल्दै जाँदा अहिले यही नै आम्दानीको स्रोत बनेको उहाँले बताउनुभयो । “श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो” उहाँले भन्नुभयो ।

श्रेष्ठले अहिले महिनामा कम्तीमा एक लाख रुपियाँ आम्दानी गर्दैआएको बताउनुभयो ।

गैँडाकोट –५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक कर्णलाल श्रेष्ठले विगत तीन वर्षदेखि च्याउखेतीमा नै समय विताउँदै आउनुभएको छ । छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर ६५ लाख लगानीका साथ सुरु गरेको च्याउ खेतीले उहाँलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा एक लाख रुपियाँ आम्दानी गर्दैआएको बताउनुभयो ।

च्याउ खेतीमा अनुदान

व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि नवलपुरमा फार्म दर्ता गरी किसानहरु सो खेतीतर्फ आकर्षित हुँदैगएका छन् । थोरै पुँजी लगानी गरी खेती तथा व्यवसाय गर्न सकिने भएकाले पनि च्याउखेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । 

अहिले जिल्लाका गैँडाकोट नगरपालिकामा तीन, देवचुलीमा एक, कावासोतीमा दुई, मध्यविन्दुमा दुई र विनयी त्रिवेणीमा एक गरी नौ वटा फार्म व्यावसायिक च्याउ खेतीमा संलग्न भएका छन् ।

व्यवसायमा संलग्न किसानलाई सो कार्यालयले बीउबिजन उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग गर्दैआएको छ । अन्य सामाजिक संस्थाले पनि आफ्नो व्यावसायिक कार्यक्रममा च्याउ खेतीलाई समेट्नेगरेका छन् । कृषि विकास कार्यालयको कार्यक्रम अन्तर्गत च्याउ खेतीमा संलग्न किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको बताइएको छ । 

कृषि शाखा गैँडाकोटका नायब प्राविधिक सहायक सुरक्षा पौडेलले गैँडाकोटमा च्याउ खेतीको सम्भावना धेरै रहेको बताउनुभयो ।

च्याउखेती गरेका कृषकले एउटा याममा न्यूनतम् १० देखि १२ क्विन्टल च्याउ उत्पादन गर्नेगरेका छन् । उत्पादित च्याउ जिल्लाबाट अन्यत्र समेत निर्यात हुनेगरेको छ । विशेषगरी कन्ये च्याउ र डल्ले च्याउ नवलपुरमा गर्ने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसमा नगरपालिकाले पनि सहायता प्रदान गर्नेगरेको छ । कृषि शाखा गैँडाकोटका नायब प्राविधिक सहायक सुरक्षा पौडेलले गैँडाकोटमा च्याउ खेतीको सम्भावना धेरै रहेको बताउनुभयो । नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रम सञ्चालन गरेर अगाडि बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रम सँगै प्रोत्साहन गरेको छ । अहिलेसम्म जम्मा गैँडाकोट नगरपालिकामा तीन वटा च्याउ फर्म दर्ता भएका छन् ।”