काठमाडौं, भदौ १२ गते । गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधि सभा बैठक सकिएको छ ।
मङ्गलबार बसेको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेस गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्न लाग्नुभएपछि गणपूरक सङ्ख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल वैरागी र ठाकुर गैरेले नियमापत्ति जनाउनुभएको थियो ।
सांसदहरूको नियमापत्तिपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको सङ्ख्या यकिन गर्न निर्देशन दिनुभएको थियो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्नका लागि प्रतिनिधि सभामा कायम रहेका सदस्यको एक चौथाइ ६९ हुनुपर्नेमा ५९ मात्रै पुगेपछि आजको बैठक स्थगित भएको हो ।
प्रतिनिधि सभाको अर्को बैठक यही भदौ १८ गते सोमबार दिनको १ बजे बस्नेगरी स्थगित भएको हो ।
विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गत वैशाख २६ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्नका लागि सुधार गर्न केही नेपाल ऐनलाई संशोधन गर्न आवश्यक रहेको भन्दै कानुनमन्त्री गुरुङले यो विधेयक संसदमा दर्ता गराउनुभएको थियो । रासस