• १३ साउन २०८१, आइतबार

छिल्लीकोटमा 'प्याराग्लाइडिङ'काे परीक्षण

blog

फाइल तस्विर ।

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ १२ गते । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा 'प्याराग्लाइडिङ' परीक्षण गरिएको छ । साहसिक खेलका रूपमा रहेको जिप लाइन निर्माणाधीन अवस्थामै रहेको छिल्लीकोटमा अर्को साहसिक खेल प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो । 

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल छिल्लीकोटको गुरुदेवी पैयाटाकुरा र छिल्लीकोट दरबार क्षेत्रको पहाडबाट आइतबार र सोमबार प्याराग्लाइडिङ परीक्षण गरिएको हो। परीक्षण गरेका पाइलट कृष्णबहादुर क्षत्रीले छिल्लीकोटको क्षेत्र भौगोलिक र वातावरणीय हिसाबले उपयुक्त क्षेत्र रहेको प्रतिक्रिया दिनुभयो । उहाँले व्यवसायीक रूपमा उडान भर्नका लागि पहाडमा उडानस्थल बनाउनुपर्ने बताउनुभयो । 

परीक्षण गर्नका लागि आवश्यक व्यवस्थापन गरेका युवामध्येका एक बाबुराम घिमिरेले परीक्षण सफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर व्यवसायीरुपमा दर्ता गरिने बताउनुभयो । उहाँले 'प्याराग्लाइडिङ' उडानपछि भित्री सक्राम, स्यालापानी खोला किनार र श्रीचौरमा अवतरण गरिएको हुँदा ती ठाउँहरूका जग्गा दर्ता प्रक्रियाका लागि सम्बन्धित निकायसँग प्रस्ताव राखिने बताउनुभयो। 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीले परीक्षण उडानका लागि अनुमति दिएको बताउनुभयो । उहाँले परीक्षण सफल भएसँगै त्यहाँको साहसिक खेल पर्यटनमा वृद्धि हुने अपेक्षा लिएको बताउनुभयो । 

वडाध्यक्ष योगीले व्यवसायीक रूपमा उडान गर्नका लागि आवश्यक सहयोग गरिने बताउनुभयो । वडाध्यक्ष योगीले त्यस क्षेत्रमा जिप लाइन समेत निर्माणको अन्तिम चरणमा पुगेको र प्याराग्लाइडिङ परीक्षण सफल भएपछि पर्यापर्यटनको क्षेत्रमा नयाँ ऊर्जा थपिएको बताउनुभयो । 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि त्यहाँको सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको उडानमा प्रतिबन्ध लगाइएपछि त्यहाँ व्यवसाय सञ्चालन गर्दै आएका युवा समूहले नयाँ ठाउँको खोजीअन्तर्गत छिल्लीकोटमा परीक्षण उडान गरेको हो । बाबुराम घिमिरेले पोखरामा एउटा उडानको लागि यात्रुले १२ हजारसम्म तिर्नुपर्ने भएपनि दाङमा पहिलो सुरुवात भएको हुँदा त्योभन्दा कम शुल्कमा उडान गर्न सकिने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखाका प्रमुख झरेन्द्र खरेलले साहसिक उडान परीक्षणका लागि पालिकाबाटै अनुमति र राजश्व समेत तिर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ३ थर्कोट डाँडामा परीक्षण गरेतापनि हालसम्म परीक्षण गर्ने समूहले व्यवसायीरुपमा नआएको बताउनुभयो ।