• १२ पुस २०८१, शुक्रबार

नयाँ नाका खोल्ने विषय चीन भ्रमणको कार्यसूचिमा छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद उदयशमशेर जबराले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले दुई देशका बीचमा रहेका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने पनि बताउनुभयो । दुई देशका बीचमा यस अघि भएका सम्झौता र समझदारीहरुलाई कार्यान्वयनमा जोड दिने पनि उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देश बीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक, आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ । भ्रमणका क्रममा यस अघि भएका सम्झौता र समझदारीहरुको कार्यान्वयनमा जोड दिइनेछ ।’’

यस्तै, सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार र स्थास्थ्यको क्षेत्रमा रुपान्तरणकारी परियोजनाहरुमा चीनको सहयोगको विस्तार गर्ने विषय पनि भ्रमणको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

‘‘नेपाल र चीन बीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरुको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषयहरु पनि भ्रमणका क्रममा कार्यसूचीमा छन् ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि, व्यापार तथा विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रुपान्तरणकारी परियोजनाहरुमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहनेछ ।’’

प्रधानमन्त्रीले अर्थतन्त्र लयमा फर्किंदै गरेको उल्लेख गर्नुहुँदै २०८० असार मसान्तसम्म शोधान्तर स्थिति २९० अर्ब ५२ करोड रुपियाँको बचतमा रहेको बताउनुभयो । यस्तै, विदेशी विनिमय सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भइ १५३९ अर्ब ३६ करोड रुपियाँ पुगेको र यसले करिब १० महिनाको वस्तु, तथा सेवाको आयात धान्न पुग्ने अवस्था रहेको बताउनुभयो । यसैगरी, विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको जानकारी गराउनुभयो ।

‘‘उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनः उत्थान तथा उच्च, दिगो, समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रही आएको छ । सरकारले चालेका सुधारका कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रशासित गरेको प्रतिवेदन अनुसार अर्थतन्त्रका सूचकाङ्कहरु सकारात्मक दिशातर्फ उन्मुख छन् । २०८० असार मसान्तसम्म शोधान्तर स्थिति २९० अर्ब ५२ करोड रुपियाँको बचतमा छ ।,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विदेशी विनिमय सञ्चिति गत वर्षको यही अवधिको तुलनामा २६.६ प्रतिशतले वृद्धि भइ १५३९ अर्ब ३६ करोड रुपियाँ पुगेको र यसले करिब १० महिनाको वस्तु, तथा सेवाको आयात धान्न पुग्ने अवस्था छ । विप्रेषण आयमा २१.२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ । वैदेशिक लगानी प्रवर्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अगाडि बढाइएको छ ।’’

उहाँले वैदेशिक लगानी प्रवर्धन गर्न नीतिगत र संस्थागत सुधार गर्दै वैदेशिक लगानीको स्वीकृति प्रक्रियालाई सहजीकरण गर्न थ्रेसहोल्ड घटाउने लगायतको कार्य अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।