• १३ साउन २०८१, आइतबार

गिद्ध वासस्थान संरक्षण गर्दै लुम्बिनी प्रदेश सरकार

blog

गिद्ध संरक्षणसम्बन्धी कार्यशालामा सहभागीहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भदौ १२ गते । लुम्बिनी प्रदेश सरकारले गिद्ध संरक्षणलाई प्राथमिकता दिने भएको छ । प्रदेश राजधानी राप्ती उपत्यकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री धनबहादुर मास्कीले प्रकृतिको कुचीकारको संरक्षण गर्न प्रदेश सरकारले बजेटमार्फत विनियोजन गरेको बताउनुभएको हो । 

मास्कीले भन्नुभयो,"गिद्ध विश्वभरि नै सङ्कटमा परेको छ । नेपालमा लुम्बिनी प्रदेश गिद्धको प्रमुख वासस्थानको रुपमा विकास भएको छ । गिद्ध वासस्थानको व्यवस्थापन गर्न र संरक्षण गर्न प्रदेश सरकारले योजना बनाएको छ । चालु आर्थिक वर्षमा गिद्धको वासस्थानलाई संरक्षण गर्ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।" 

कार्यक्रममा बोल्दै गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर राउतले गिद्ध संरक्षणमा स्थानीय सरकारको सहभागितामा जोड दिनुपर्ने बताउनुभयो । समुदाय सचेत बनाउँदा गिद्धको संरक्षणमा प्रगति देखिएको छ । अब तीन तहको सरकार र समुदाय मिलेर आहारा व्यवस्थापन, पूर्वाधार विकासमा जोड दिनुपर्ने औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल पन्छी संरक्षण सङ्घ नेपालका कार्यक्रम अधिकृत भूपाल नेपालीले सामुदायिक वन र संरक्षणकर्ताको सक्रियताले लुम्बिनी प्रदेश गिद्धको सुरक्षित वासस्थान भएको बताउनुभयो । पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेकको प्रयोग न्यून भएपछि गिद्धको मृत्युदर घटेको बताइएको छ । 

संरक्षणका लागि लुम्बिनी प्रदेशका ३ स्थानमा जटायु रेष्टुरेन्ट सञ्चालनमा छन् । रुपन्देहीको गैँडाताल, दाङको लालमटिया र तुलसीपुरको स्यानापानीमा जटायु रेष्टुरेन्ट सञ्चालनमा छन् । समुदायको सक्रियतामा तुलसीपुरको हेमन्तपुरमा वन्यजन्तु उपचार केन्द्र सञ्चालनमा छ । 

सो कार्यक्रममा ९ जिल्लाका गिद्ध संरक्षणकर्मीको सहभागिता थियो । पूर्वी रुकुम, रोल्पा र प्युठान जिल्लामा गिद्ध संरक्षणका लागि समुदायको सहभागिता नभएको जनाइएको छ । गिद्ध संरक्षणकर्मीले स्थानीय सरकारले गिद्ध संरक्षणमा कम चासो दिने गरेको गुनासो गर्नुभएको छ ।