• १३ साउन २०८१, आइतबार

म्याग्दीमा तिस हजार पर्यटक

blog

अमृतप्रसाद पौडेल 

म्याग्दी, भदौ १२ गते । गत आर्थिक वर्षमा हिमाली जिल्ला म्याग्दीको झन्डै ३० हजार पर्यटकले अवलोकन गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ ।

लामो समयसम्म विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिम पूर्ण अवस्था पछि गएको वर्ष उक्त सङ्ख्यामा विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको भ्रमण गर्नका लागि बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका, स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताइवानबाट पर्यटक आएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिनुभयो । 

म्याग्दीको भ्रमणमा धेरै जसो पर्यटक कास्कीको घान्द्रुकबाट पुनहिल, घोरेपानी तथा ढोरपाटन सिकार आरक्ष र छिमेकी जिल्ला मुस्ताङबाट आउने र जाने गरेको पाइन्छ । 

तथ्याङ्कमा पर्यटक म्याग्दीको भ्रमणमा धेरै देखिए पनि जिल्लामा न्यून मात्रामा बस्ने गरेको म्याग्दी होटल व्यवसायी ताराप्रसाद आचार्य (बाबुराम) ले बताउनुभयो । होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले भन्नुभयो, “पर्यटकको बसाइ लम्ब्याउनका लागि आवश्यक पूर्वाधारको निर्माण गरी पर्यटनमैत्री वातावरण बनाउनुपर्नेमा स्थानीय तह र सरोकारवाला निकायले जोड दिनुपर्ने हुन्छ ।”

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलको विदेशी पर्यटकले भ्रमण गर्ने गरेका छन् । म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटक घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, रुप्से झरना, संसारकै गहिरो अन्धगल्छी, राउन्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ, धौलागिरि बेस क्याम्प तथा धौलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् । बेनी बजारमै रहेको शिवालय, गलेश्वरधाम, पुलस्त्य पुलहाश्रम जस्ता धार्मिक क्षेत्रको उचित प्रचार गरेको खण्डमा दक्षिण भारत तथा श्रीलङ्काका पर्यटकको आगमन बढ्नेतर्फ ध्यान पुग्न नसकेको व्यवसायीको भनाइ छ ।

बेनी नगरपालिका–४, सिङ्गा तातोपानी तथा अन्नपुर्ण गाउँपालिका–२, भुरुङ–तातोपानीको कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, राखुभगवतीको रुइसे भेडीओढार, भकिम्लीको स्वर्गाश्रम, बेलढुङ्गा, धार्मिक क्षेत्र जगन्नाथ एवं मालिका मन्दिरलगायत अन्य क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट मनोरम दृश्यावलोकन गर्नका लागि पर्यटक आउने गरेका छन् ।