• १२ पुस २०८१, शुक्रबार

कृषि कार्यक्षेत्रमा समन्वयकारी भूमिका निर्वाह गर्छु : डा. आरजु

blog

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित आरजु राणा देउवा । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ ११ गते । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा डा‍. आरजु राणा देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताउनु भएको छ । सोमबार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

निर्वाचित भएपछि देउवाले संविधान अनुरूप र जनताको आशा अनुरूप सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले कृषि वृहत् क्षेत्र रहेको भन्नुहुँदै आफूले सदैव समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्ने जानकारी दिनुभयो ।


‘‘समिति बनेको धेरै त भएको छैन । धेरै ब्रिफिङ लिएर पहिले डिसिजन भइसकेको जस्तो लाग्छ । मन्त्रीले पनि समय दिइरहनुभएको छ । मन्त्रालयका सचिवहरूले पनि ब्रिफिङ गरिरहनुभएको छ । धेरै वृहत् कार्य भएको क्षेत्र हो । यो कार्यक्षेत्रमा जति पनि माननीयज्यूहरू हुनुहुन्छ आफ्नो क्षेत्रमा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ । त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ । जति पनि माननीय ज्यूहरूको प्रस्तुति, उहाँहरूको इन्फरमेसन इन्डेप्थ छ ।’’

सभापति देउवाले भन्नुभयो, ‘‘अन्तर्राष्ट्रिय रूपमा पनि उहाँहरूलाई धेरै कुरा थाह भएको छ । सभापति भनेको कोर्डिनेटरको भूमिका हो । यहाँ साथीहरूले दिनुभएको सुझाव, यहाँहरूले देखाउनु  भएको मार्गमा नै अगाडि कामकाज बढाउने योजना छ । संविधान अनुरूप र जनताको आशा अनुरूप सरकारलाई दिने पोलिसि, डिरेक्सनहरु र सरकारको काम गर्ने तौरतरीकामा गर्न सक्ने इम्प्रुभ्मेन्टमा सफलताका साथ अगाडि बढोस् भनेर भन्छु ।’’

उहाँले संवृद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने बताउनुभयो ।