• १३ साउन २०८१, आइतबार

रोग लागेपछि उत्तरी मोरङमा घट्यो अलैँची उत्पादन

blog

लेटाङ –७ बारङ्गीका किसानको अलैंचीबारी । तस्विर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, भदौ ११ गते । उत्तरी मोरङका किसानलाई यतिबेला अलैँची भित्र्याउने चटारो छ । गत वर्षभन्दा यो वर्ष दोब्बर मूल्य बढे पनि उत्पादन स्थिर रहँदा किसानको मुहार खासै उज्यालो छैन । 

उत्तरी मोरङका लेटाङ नगरपालिका, मिक्लाजुङ र केराबारी गाउँपालिकामा अलैँचीको व्यावसायिक खेती हुन थालेको एक दशक पूरा भयो । साविक बाङ्गी गाविस हाल लेटाङ–७ का हामसेर लिम्बूले २०३५ सालमा प्रयोगको रूपमा इलामबाट पहिलो पटक बिरुवा ल्याएर रोप्नुभएको थियो । आशा गरेभन्दा राम्रो उत्पादन दिएपछि त्यसयता उहाँको परिवार लगायत साविक बारङ्गी, सिंहदेवी, पाटीगाउँ, भोगटेनी, रमितेखोला र याङ्सिलाका किसानले अलैँची खेती गरिरहेका छन् । 

२५ रोपनीमा अलैँची खेती गरिरहनुभएका आदिमान लिम्बूले भन्नुभयो, “गत वर्ष १० मन अलैँची उत्पादन भएको थियो । ३० हजारमा बिक्री भयो । यो वर्ष ६०–६५ हजार रुपियाँसम्म भाउ पुगेको भए पनि उत्पादन घट्यो । 

छिर्केमिर्के र डढुवा रोगले अलैँचीको गानो कुहिएपछि पूरै बारी सखाप हुनेगरेको आदिमान लिम्बूले बताउनुभयो । २० वर्ष यता अलैँची खेती गरिरहनुभएका आदिमान २०–२२ रोपनी जग्गामा खेती गर्नुहुन्छ । उहाँ मात्र होइन, उत्तरी मोरङका पहाडी गाउँमा अधिकांश किसानले १ देखि ३० रोपनीसम्म अलैँची खेती गरिरहेका छन् ।

स्थानीय जनप्रतिनिधि समेत रहनुभएका लिम्बूले किसानले मकै, धान र कोदो फल्ने खेतमा समेत अलैँची रोप्न थालेको बताउनुभयो । ‘उत्तरी मोरङका गाउँमा अझै यातायात र बिजुलीको पहुँच छैन । यहाँका किसान अलैँची बेचेको पैसाले चामल किनेर खान सक्ने भएका छन्’ सोही वडाका पूर्व वडाध्यक्ष नगेन्द्र लिम्बूले बताउनुभयो ।  

लेटाङ–७, पित्लुम्वाका पूर्णबहादुर लिम्बूले १० रोपनीमा अलैँची लगाउनुभएको छ । बिरुवा लगाउँदा ठुलो अपेक्षा थियो, उहाँमा । बिरुवामा रोग लागेपछि जम्मा २० केजी अलैँची निस्कियो । उहाँले भन्नुभयो, ‘गतवर्ष सोही जग्गामा ३ मन अलैँची निस्किएको थियो । प्रतिमन ३० हजारले बिक्री भयो । यो वर्ष २० किलो फल्यो, प्रतिमन ६० हजारले बिक्री भयो । 

किसान अलैँची खेतीमा आकर्षित भए पनि रोग नियन्त्रण गर्न नसक्दा उत्पादन सन्तोषजनक नभएको अर्का किसान बलबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानीको अभाव छ । सिँचाइको व्यवस्था भए अलैँची र कुचो बिक्रीबाट लेटाङले अरबौँ रुपियाँ भित्र्याउन सक्ने थियो ।’ उत्तरी मोरङमा सबैभन्दा बढी अलैँची उत्पादन गर्ने राईले यो वर्ष मात्र ३० मन अलैँची बिक्री गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मकै, कोदो खेती मासियो । उत्तरी मोरङका मानिसहरू यतिबेला अलैँचीसँग चामल साटेर खान बानी परिसकेको छ ।’ साविक सिंहदेवी –५ हाल केराबारी –२ मा समेत केही वर्षयता अलैँचीको व्यावसायिक खेती सुरु भएको डगलसिंह राईले बताउनुभयो । उहाँका अनुसार गाउँमा चिया, अलैँची, अदुवा, अम्लिसो खेती नगर्ने कोही छैनन् । सबैले थोरै क्षेत्रफलमा लगाएको उहाँले बताउनुभयो ।  

कृषि ज्ञान केन्द्र विराटनगरका अनुसार मोरङमा २७० हेक्टरमा अलैँची खेती भइरहेको छ । सरदर प्रतिहेक्टर ० दशमलव ६ टन अलैँची उत्पादन हुनेगरेको छ ।