मीना कँडेल
कावासोती, भदौ ११ गते । नवलपुरको कावासोती नगरपालिका –१५ की माया बोटे हिजोआज गाउँमा खोलिएको होमस्टेमा व्यस्त हुनुहुन्छ । होमस्टेमा आउने पाहुनालाई स्वागत, सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उहाँको समय बित्ने गरेको छ । २०७० देखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उहाँसहितका महिलाको दैनिकी अहिले फेरिएको हो ।
पहिला दैनिक घाँस–दाउरा र माछा मार्न जाने माया अहिले गाउँमा आउने पाहुनाको स्वागत र सत्कारमा जुट्ने गर्नुहुन्छ । होमस्टे सञ्चालनबाट आएको रकमले जीवनमा थोरै भए पनि परिवर्तन आएको उहाँको भनाइ छ । ‘होमस्टेबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घर–व्यवहार चलाउने जस्ता काममा सजिलो भएको छ’ उहाँले भन्नुभयो ।
होमस्टे सञ्चालन गरेपछि व्यक्तित्व र आर्थिक विकासमा परिवर्तन आएको उहाँको भनाइ छ । माया एक पात्र मात्रै हुनुहुन्छ । गाउँमा भएका ३१ घर होमस्टेका सबै महिलाको व्यक्तित्वमा विकास भएको यहाँका महिलाहरुको भनाइ छ ।
गाउँको होमस्टेमा महिला आबद्ध भएपछि विदेशमा भएका पुरुष घर फर्किएका छन् । थारु समुदायको बाक्लो बस्ती रहेको नवलपुरको कावासोती –१५ का थारु समुदायका महिला कोही होमस्टेमा त कोही होटल व्यवसायमा आबद्ध हुनुहुन्छ ।
अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा ३१ घर सञ्चालनमा छन् । बिहान १० बजेदेखि साँझको ४ बजेसम्म सहकारीको व्यवस्थापकको भूमिकामा व्यस्त धनमाया महत्तो बाघखोरका महिलाको नेतृत्व गर्नुहुन्छ । उहाँले भन्नुभयो, “बाघखोर गाउँका सबै पुरुष कमाउन विदेश जाने र महिला मेलापात गरेर घरखर्च टार्नुपर्ने अवस्था थियो । मेला जानु र जङ्गल गएर दाउरा ल्याएर बेच्नु वा प्रयोग गर्नुको यहाँ अरु विकल्प थिएन ।”
गाउँमा होमस्टे सञ्चालनमा आएपछि महिलाको नेतृत्व र व्यक्तित्वमा परिवर्तन आएको अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतोले बताउनुभयो । वन र वन्यजन्तुको संरक्षण गर्दै पर्यटकलाई आकर्षण गर्ने केन्द्रको रुपमा मात्र होइन, यस होमस्टेले थारु संस्कृतिलाई पनि जोगाउँदै आएको छ ।
आर्थिक उपार्जनसँगै संस्कृति संरक्षण
होमस्टे सञ्चालनपछि स्थानीय महिलाको नेतृत्व र क्षमता विकास भएको छ । ‘पहिला कोही नौलो मान्छे गाउँमा देख्नेबित्तिकै महिला घरभित्र लुक्थे । बोल्न डराउँथे, तर अहिले खुलेर स्वागत गर्नेगरेका छन्’ अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खुलेर कुरा गर्ने, आफ्ना विचारहरू राख्ने, तर्क गर्ने अवस्थामा आएका छन्, उनीहरूको जीवनमा ठूलो परिवर्तन आएको देख्छु, हामी खुसी छौं ।’ मासिक रुपमा ३० देखि ४० हजारसम्म आम्दानी हुने भएपछि महिला होमस्टेतर्फ आर्कषित भएको स्थानीय महिलाको भनाइ छ ।
महिलाहरु सबैले आफ्नो परम्परागत सांस्कृतिक रीतिरिवाज जानेका छन् । पाहुनालाई खाना खुवाइ सकेपछि होमस्टेको कार्यालय रहेको भवनमा कल्चर प्रोग्राम हुन्छ । यहाँ हरेक घरबाट एक अथवा दुई जना महिला पुरुष जान्छन् । करिब साढे ८ बजेबाट सुरु हुने थारु साँस्कृतिक कार्यक्रम १० बजेसम्म चल्छ ।
यसमा थारुहरुका डेम्म्रा नाच, झुम्रा, गेलेनी, जोगेडा, झर्रा, लठ्ठी नाच र अन्त्यमा पाहुनालाई रिमिक्समा नचाउने गरेको होमस्टे सञ्चालक जितनारायण थनेतले बताउनुभयो ।
यहाँ हात्ती सफारी, नारायणीमा बोटिङ, थारु परिकार, चरा अवलोकन, जीप सफारी, थारु सांस्कृतिक कार्यक्रम, आदिवासी सङ्ग्रहालय अवलोकन, बयलगाडा सफारी सञ्चालन हुनेगरेको छ । आफ्नो संस्कृति र भेषभूषाको संरक्षण गर्दा, पर्यटन विकाससँगै सामाजिक, आर्थिक विकासमा टेवा पुग्ने देखेपछि कावासोती १५ नम्बर वडाको गोडारका महिला मिलेर २०७५ मा थारु सांस्कृतिक अतिथिगृह सञ्चालनमा ल्याएका हुन् ।