• ३० वैशाख २०८२, मङ्गलबार

पाल्पामा दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

blog

इमान सिं राना

रामपुर (पाल्पा) भाद्र ११ गते । पाल्पाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार चालकको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी एक जना घाइते भएका छन् । 

तानसेन–तम्घास पक्की सडक खण्ड अन्तर्गत जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कालीमाटी गाउँपालिका–२ सल्यानका ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

सोमबार बिहान १ः३० बजे मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोक्किन जाँदा चालक घर्तीसहित मोटरसाइकलमा सवार श्रवल गाउँपालिका १ नवलपरासीका २८ वर्षीय ओमप्रकाश थारु घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । चेकजाँच गर्दा घर्तीलाई चिकित्सकले मृत घोषणा गरेको हो । 

घाइते भएका थारुलाई मिसन अस्पतालमा उपचारपछि सिटी स्क्यानका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको अवस्था भने मध्यम रहेको बताइएको छ । दुर्घटनाको विषयमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।