काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गलत विचारलाई प्रतिवाद गर्न सञ्चार तथा सूचना प्रविधि मञ्च (आइसिटी) को प्रयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आइसिटी फोरमको प्रथम बैठकको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले अहिलेको सूचना प्रविधिलाई प्रयोग गरेर पार्टी निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।
“आइसिटीलाई विशेष महत्त्व दिएको हाम्रै पार्टीले हो । यसको प्रयोग गरेर गलत विचारलाई प्रतिवाद गर्न र चिर्न लागौँ । हिजो युद्धकालमा कुनै एउटा आक्रमण गर्दा आन्दोलनकर्ता, सङ्गठनकर्ता र प्रचारकर्ता त्यसैबाट एकसाथ हुन्थ्यौँ,” उहाँले भन्नुभयो, “अब सूचना प्रविधिलाई यी तीन वटै मोर्चामा प्रयोग गरौँ । त्यसबाट समाजवादी आधार तयार गर्न र जनतासँग नयाँ सम्बन्ध विकास गर्न सहयोग पुग्ने छ ।”
उहाँले आइसिटीलाई सङ्गठन विस्तार र प्रशिक्षणमा समेत प्रयोग गरिने बताउनुभयो । पार्टीको तीनमहिने अभियानलगत्तै विधान सम्मेलन हुने बताउँदै उहाँले त्यसको तीन महिनापछि विशेष महाधिवेशन हुने भएकाले यो छ महिना पार्टीका लागि निकै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । “अहिलेको युग सूचना प्रविधिका रूपमा स्थापित छ ।
यसको महत्त्व कति छ भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ । विज्ञान प्रविधिको महत्त्व बुझेर त्यसलाई महìव दिए राजनीतिक दल सफल हुने र नदिए असफल हुने देखिएको छ,” उहाँले भन्नुभयो, “त्यसैले आइसिटी फोरमको गठन गर्ने निर्णय गरियो । यसको सङ्गठन तल्लो तहसम्म विस्तार हुने छ । समाजवादको आधार तय गर्नका लागि जनतासम्म पुग्ने गरी यस सङ्गठनले पार्टीका नीति, विचार र कार्यक्रमलाई प्रचार गर्ने छ ।” अहिले हल्लाकै भरमा सङ्गठन बनाउने प्रचलन देखिएको उल्लेख गर्दै उहाँले आइसिटीको प्रयोगले सिद्धान्त र नीतिलाई जनतामा स्थापित गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
विश्वकर्मा माओवादी केन्द्रमा प्रवेश
सोही कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र विश्वकर्मा माओवादीमा प्रवेश गर्नुभयो । दाङ जिल्ला संयोजकसमेत रहनुभएका विश्वकर्मालाई पार्टी अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउनुभएको थियो ।
उत्पादनमा क्रान्तिकारी परिवर्तन जरुरी
यसैबिच प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादनमा क्रान्तिकारी परिवर्तन जरुरी रहेको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीमा उहाँले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशको परिवर्तन सम्भव नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीतिक महत्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियान सुरु गरेको हो ।”
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाँदा उत्पादनका क्षेत्रमा सहकार्य गर्नेबारे छलफल भएको उल्लेख गर्दै भारतले गरेको हरित कृषिको अध्ययनका लागि अनुभव साटासाट गरिने बताउनुभयो । त्यस्तै आइतबार पार्टी कार्यालयमै सम्पन्न नेपाल बुद्धिजीवी सङ्गठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले राम्रा काम गरेपछि पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्ति विछिप्त भएका छन् । सरकारले गरेका राम्रा कामबाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । भ्रमलाई चिर्न बुद्धिजीवी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने छ ।”