बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ, १० गते । सिन्धुली जिल्लामा विगत केही दिनदेखि भइरहेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ ।
जिल्लाको कमला नदी, मरिण, चँदाहा, जिर्घा, खहरे लगायतको खोलामा आएको बाढीले किसानको खेत कटान गर्न सुरु गरेको स्थानीयले बताएका छन् ।
दुधौली नगरपालिका-६ हर्षाही निवासी किसान कौशिला बुढाथोकी कमला नदीको बाढीले धान बाली लगाएको आफ्नो अढाई कठ्ठाभन्दा बढी खेत कटान गरी बगर बनाएको गुनासो गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, "विगत पाँच दिनदेखि दैनिक लगातारजसो वर्षा भइरहेको छ । वर्षा एकछिन रोकिने र पर्ने जारी छ । कमलाको बाढीले अझै कति खेत कटान गर्ने हो, ठेगान छैन।"
सोही ठाउँका अर्का किसान लीलाबहादुर कार्की पनि कमला नदीमा आएको बाढीले आफ्नो छ कठ्ठा खेतमा लगाएको धानबाली नष्ट गरेको गुनासो गर्नुहुन्छ । "रोपो(धानको बिरुवा) राम्रैसँग सप्रेर आएको, एक साता अघिसम्म धान खेत पूरै हरियालीमय थियो," उहाँले भन्नुभयो, "अहिले पूरै बगर बनेको छ, खेतमा कमला नदी बगिरहेको छ ।" यसै साता परेको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले उक्त वडामा मात्रै कमला नदीले १६ जना किसानको धानबाली लगाएको दुई बिघा पाँच कठ्ठा खेत कटान गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।
बाढी पहिरोको क्षेतिको विवरण सङ्कलन कार्य भइरहेको पनि उक्त कार्यालयले जनाएको छ । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले पनि मरिण खोलामा आएको बाढीले यो वर्ष मात्रै उक्त पालिकाभित्र विभिन्न ठाउँमा गरी करिब ८० बिघा जति खेत कटान गरिसकेको बताउनुभयो । "बाढी पहिरोका कारण जहाँ बढी समस्या भएको छ, त्यहा जनश्रमदान गरी तारजाली भरेर तटबन्ध गरी संरक्षण पनि गर्दै गएका छौं । पालिकाले जनश्रमदानका लागि अभियान नै सञ्चालन गरेको छ", उहाँले भन्नुभयाे ।
जनश्रमदानमा जनप्रतिनिधि, स्थानीय, कर्मचारी सबैको सहभागिता रहँदै आएको उहाँको भनाइ छ । वडा नं. ७ मा १५ घर धुरीको बस्ती रहेको महेश्वता ठाँटीलाई महेश्वता खोलाको कटानबाट जोगउन जनश्रमदानबाटै तारजाली भरेर संरक्षण गर्ने कार्य भएको पनि उहाँले सुनाउनुभयो ।
स्थानीयका अनुसार वर्षेनी बढ्दै गएका वन विनाश, जथाभावी जताजतै खनिएका सडक, नदी तथा खोलाहरुको दोहनका कारण आएको बाढी, पहिरोका कारण जिल्लाका किसानको हजारौं बिघा जमिन बगरमा परिणत हुँदै छ ।
बढ्दै गएको चुरे जङ्गलको विनासले नै वर्षेनी नयाँ खहरे जन्मिने गरेको र खहरे आसपासका बस्ती बाढीपहिरोबाट बढी प्रभावित बनेको कमलामाई नगरपालिका–१३ निवासी शिक्षक पुजन बख्रेलले बताउनुभयो । त्यस्तै, कमलामाइ नगरपालिका–११ फिटिङस्थित भिरगाउँ जाने बाटोमा रहेको बस्ती पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण बस्ती नजिकै पहिरो गएपछि बस्ती पहिरोको जोखिममा परेको हो ।
बस्ती जोखिममा परेसँगै त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन् । लगातारको वर्षाका कारण बस्तीभन्दा माथीबाट पहिरो र ठुला–ठुला रुख ढल्ने र बगेर आउने अवस्था आएपछि बस्ती जोखिममा परेको स्थानीय पुतलीमाया वाइबाले बताउनुभयो । उहाँका अनुसार पहिरोको कारण यस बस्तीमा स्थायी रुपमा बसोबास गर्दै आएका पाँच घर जोखिममा र चार घर उच्च जोखिममा परेका छन् । भिरगाउँ जाने चौक नजिकै सूर्यदीप वन उपभोक्ता समिति अन्तर्गत पर्ने वनक्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको बताइएको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले नगरपालिकाभित्रका सबै पहिरो प्रभावितहरुको समस्या समाधानका लागि आवश्यक योजना बनाएको र नगरपालिकाले विपतबाट प्रभावित सबै नागरिकलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । पहिरो प्रभावितका लागि तत्काल राहत उपलब्ध गराउनेसँगै दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले योजना बनाएको उहाँको भनाइ छ ।