काठमाडौँ, भदौ १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।
आइतबार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसारभर आइटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढी रहेको उल्लेख गर्नुभयो । उहाँले एउटा सामान्यभन्दा सामान्य सूचनादेखि लिएर महत्त्वपूर्ण सूचनाहरू एकै पटक सबैतिर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताउनुभयो । उहाँले दुर्गममा रहेका स्वास्थ्यकर्मीहरुले पनि आइटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिन सक्ने उल्लेख गर्नुभयो । मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पुर्याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढी रहेको उल्लेख गर्नुभयो । उहाँले आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले आइटीको क्षेत्रमा सुधार नगरीकन हाम्रो विकास, निर्माण, उन्नति प्रगति सम्भव छैन । संसारभर जजसले यो क्षेत्रमा विकास गरेका छन्, ती देशहरू अघि बढेका छन् । हामीले पनि एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्त्वपूर्ण सूचनाहरू एकै पटक सबैतिर छर्नुपर्यो भने यो सिस्टम काम लाग्दैन । एक छिनलाई मानी लिनुस्, स्वास्थ्यकर्मीहरू दुर्गम गाउँमा पठाउन सकेनौँ, त्यहाँ एउटा सामान्य डाक्टरले कसैको सल्लाह नै लिनुपर्ने भयो, त्यहाँ सिनियर डाक्टरलाई सञ्चार वा आइटीको माध्यमबाट सम्पर्क गरेर यस्तो स्थितिमा कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।’
मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्षभित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गर्नुभयो ।