• ३० वैशाख २०८२, मङ्गलबार

महिला बन्दी गृह निर्माण

blog

घोराही समाचारदाता

घोराही, भदौ १० गते । दाङको तुलसीपुरमा सुविधासम्पन्न महिला बन्दी गृह निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयबाट विनियोजित तीन करोड ८८ लाख सात हजार रुपियाँको लागतमा महिला बन्दी गृह निर्माण भएको हो। 

नयाँ भवनमा रहेका १८ कोठामा ८० जनासम्म कैदीबन्दीलाई राख्न सकिने तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर चिन्तामणि रेग्मीले जानकारी दिनुभयो। यसअघि पुरानो बन्दी गृहका तीन वटा कोठामा ४९ जना महिला कैदीबन्दीसहित तीन जना आश्रित बालबालिका गरेर ५२ जना बस्दै आएका थिए। २५ जना राख्न मिल्ने क्षमताको बन्दी गृह भए पनि क्षमताभन्दा बढी राख्नुपर्ने बाध्यता रहेको थियो।  

नयाँ भवन निर्माणसँगै महिला कैदीबन्दीलाई नयाँ भवनमा सारिएको जेलर रेग्मीले बताउनुभयो। उहाँले भन्नुभयो, “पुरानो बन्दी गृहमा क्षमताभन्दा बढी महिला कैदीबन्दीलाई राख्दा बस्न समस्या थियो। नयाँ भवन निर्माणसँगै सहज भएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सँगै बस्न, नुहाउन, शौचालय जान समस्या हुने गरेको थियो।” 

नयाँ भवन निर्माणसँगै महिला कैदीबन्दीलाई बस्न सहज भएको नाइके रुक्सा राईले बताउनुभयो। उहाँले भन्नुभयो, “पुरानो भवनका तीन कोठामा तीन बालबालिकासहित ५२ जना बस्नुपर्ने अवस्था थियो। अब त्यो समस्या हटेको छ।” नयाँ बन्दी गृहमा १८ वटा सुविधासम्पन्न कोठासँगै १० वटाभन्दा बढी शौचालय, नुहाउने कोठा, उपचार कक्ष, भान्छा कोठा, खानेपानीको धारालगायतका सुविधा छन्। त्यसै गरी कैन्दीबन्दीका लागि टेलिभिजनको समेत व्यवस्था गरिएको छ। 

भवन निर्माणको ठेक्का प्रशंसा कन्स्ट्रक्सन धनगढी कैलालीले २०७८ साल साउन २५ गते पाएको थियो। सम्झौता मितिले २०८० साल भदौ १ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि दुई महिनाअघि नै बन्दी गृह निर्माण सकिएको जेलर रेग्मीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दुई वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो, सम्झौता मितिभन्दा अघि नै बन्दी गृहको निर्माण सकिएको हो।” तुलसीपुर बन्दी गृहमा ५४३ जना कैदीबन्दी छन्। तुलसीपुरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै बन्दी गृह छन्। तीन सय क्षमता रहेको पुरुष बन्दी गृहमा ४९१ जना कैदीबन्दीलाई राखिएको तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर रेग्मीले जानकारी दिनुभएको छ। नवनिर्मित महिला बन्दी गृहको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले उद्घाटन गर्नुभएको हो।