• ३० वैशाख २०८२, मङ्गलबार

बगनासकालीका बोटेहरू धर्नामा

blog

न्याय माग्दै धर्नामा बसेका बोटे युवाहरु । तस्बिर : बिन्दु थापा

बिन्दु थापा 

पाल्पा, भदौ ९ गते । पाल्पाको बगनासकाली गाउँपालिकाले गिट्टी, बालुवा निकासीका लागि काटेको रोयल्टीबापतको बिल प्रमाणीकरण गर्न नमानेपछि वडा ६ का स्थानीय बोटे युवाहरू शुक्रबारदेखि बगानसकाली गाउँपालिकामा धर्ना दिएका छन् । 

पीडित ३५ वर्षीय दलबहादुर बोटे, २७ वर्षीय प्रकाश बोटे र ६८ बर्षीया लेखनाथ अधिकारी धर्ना बसेका हुन् । आफूहरूले रोयल्टीबापत काटेको रसिद सक्कल भए, नभएको प्रमाण दिन माग गर्दै धर्ना बसेका हुन् ।  

गाउँपालिकामा आफूहरूले रोयल्टीबापत काटेको रसिद सक्कल भए, नभएको प्रमाणित गर्न माग गर्दै निवेदन दिए पनि पालिकाले बेवास्ता गरेको उहाँहरूको भनाइ छ । हिजो १० बजेदेखि धर्नामा बसेको प्रकाश बोटेले बताउनुभयो । दिनभर स्थानीय राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी र जनप्रतिनिधि समेतले पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई यसको प्रमाणीकरण गर्न आग्रह गर्दा समेत पालिकाका पदाधिकारीले वास्ता नगरेको उहाँहरूको आरोप छ ।

पीडित बोटेहरूको निवेदनलाई आइतबार कार्यालय खुलेपछि मात्र आफूहरूले रुजु गरेर हेर्ने, अनि मात्र प्रमाणीकरण गरिने पालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । 

कानुनी प्रावधानअनुसार सेवाग्राहीले कुनै पनि जानकारी र सिफारिस मागेको खण्डमा जति सक्दो छिटो दिनुपर्ने प्रावधानलाई समेत पालिकाले बेवास्ता गरेर अनावश्यक रूपमा वडा अध्यक्षसँग राजनीतिक पूर्वाग्रह राखेको नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले बताउनुभयो । 

वडाका वडाध्यक्ष लक्ष्मी अधिकारीले डम्पिङ्ग गरेको भन्दै कार्यपालिकाले एक महिना पहिला वडा अध्यक्ष अधिकारीलाई जरिवाना गर्ने निर्णय गरेको थियो । तर डम्पिङ्ग गरिएको बालुवा वडाध्यक्षको नभएको भन्दै वडाका स्थानीय बोटे युवाहरूले आफूहरूले रोयल्टी तिरेर ल्याएको बिल समेत देखाउँदैआएका छन् । उहाँहरूले गिट्टी, बालुवा आफूहरू रहेको दाबी गर्दै पालिकामा निवेदन दिनुभएको थियो । 

पालिकाले सो गिट्टी, बालुवा वडाध्यक्षकै भएको भन्दै राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई फसाउन खोजको वडाध्यक्ष लक्ष्मी अधिकारीले बताउँदैआएका छन् । 

नदीजन्य पदार्थ अपचलन गरी डम्पिङ्ग गरी राखिएको आरोप लगाएर गाउँ कार्यपालिकाले गत एक महिना पहिला वडाध्यक्षलाई २ लाख दश हजार जरिवाना गर्ने निर्णय गरे पछि विवाद चुलिदैगएको हो ।

वडाध्यक्ष अधिकारीले डम्पिङ्ग गरी राखेको भनिएको गिट्टी, बालुवा बोटेहरूले रोयल्टीबापत पैसा तिरेका रसिद समेत जुटाएर त्यो बालुवा आफूहरूको भएको दावा गर्दैआएपछि घटनाले ठुलो रूप लिएको हो ।