• १३ साउन २०८१, आइतबार

कोशीमा पानीको बहाव उच्च, ५६ ढोका खोलियो

blog

बाबुराम कार्की 

वराहक्षेत्र(सुनसरी), भदौ ९ गते । सप्तकोशी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि शुक्रबार साँझबाटै ५६ ढोका खोलिएको हो । 

पहाडी क्षेत्रमा वर्षा भएसँगै शुक्रबार दिउँसोदेखि नै कोशीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । साँझ ७ बजे तीन लाख ८० हजार ८ सय १५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो । 

कोशी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राती १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिबार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ । 

गत साउन २९ गते ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक पानीको बहाव यस वर्षकै उच्च र अहिलेसम्मको पाँचौँ पटक उच्च मापन गरिएको कोशी योजना विराटनगरका सम्पर्क तथा भू आर्जन अधिकृत प्रमोद पौडेलले बताउनु भयो ।

सम्पर्क तथा भू आर्जन अधिकृत पौडेलका अनुसार पहिलो पटक १९६८ अक्टोबर ५ मा ७ लाख ८८ हजार २ सय क्युसेक पानीको मापन गरिएको थियो । सन् १९६८ अगस्ट २७ मा ४ लाख १ हजार ९० क्युसेक, १९८४ सेप्टेम्बर १७ मा ५ लाख १ हजार ७ सय ८७ क्युसेक, सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक र १९८९ सेप्टेम्बर १९ मा ४ लाख ७२ हजार १ सय ९३ क्युसेक पानीको बहाव उच्च मापन गरिएको छ । 

यस वर्षको दोस्रो पटक पानीको बहाव उच्च मापन र १९६८ यताकै छैटौँ पटक मापन गरिएको कोसी योजना विराटनगरका सम्पर्क तथा भू-आर्जन अधिकृत प्रमोद पौडेलले बताउनुभयो ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको थियो कोसीमा पानीको बहाव उच्च भए पनि पूर्वी तटबन्धमा सामान्य कटान बाहेक कुनै क्षति नभएको र श्रीलङ्का टापुमा भने कटान भइरहेको सम्पर्क अधिकृत पौडेलले बताउनुभयो । राजा वास, प्रकाशपुर, मधु वनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ ।