भक्तिविलास पोखरेल
गाईघाट, भदौ ८ गते । केही दिनदेखि लगातार परेको सिमसिमे वर्षासँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि मदन भण्डारी राजमार्गको गाईघाट–नेपालटार खण्डमा शुक्रबार बिहानैदेखि यातायात सेवा पुनः अवरुद्ध भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका –६ स्थित मौवासी खोला पुल नजिक माथिबाट पहिरो खसेर सडकमा थुप्रिएकाले पहिरो पन्छाउन प्रयास भइरहेको तर पानीजस्तै भएर लगातार पहिरो खसिरहेकाले तत्काल सडक सुचारु गर्न सकिने अवस्था नरहेको यहाँस्थित गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।
सडकमा थुप्रिएको माटो, लेदो, रुख र ढुङ्गाहरु पन्छाउन आयोजना कार्यालयबाट डोजर स्काइभेटरलगायतका मेसिनहरु परिचालन गरिएको छ । तर ठूलो पहिरो गएकाले सशस्त्र र जनपद प्रहरीलगायतका सुरक्षा निकायको समेत सहयोग लिएर जतिसक्दो चाँडो अवरुद्ध सडक सुचारु गराउन आफू लागिपरेको उहाँले बताउनुभयो । पन्छाए पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले सडक सुचारु हुन अझ केही दिन लाग्ने खकुरेलले बताउनुभयो ।
शुक्रवार बिहानैदेखि पूर्वबाट राजधानी काठमाडौं र काठमाडौंबाट पूर्वतर्फ हिंडेका सवारी साधनहरु सडकमा रोकिँदा जाम लागेको छ । सुरक्षाकर्मीको सहयोगमा पूर्वतर्फका सवारीलाई त्रियुगा नगरपालिका –७ को चुहाडेबाट लाहानतर्फ र पश्चिमतर्फका सवारीलाई कटारीबाट मिर्चैयातिर डाइभर्सन गरिएको प्रमुख खकुरेलले बताउनुभयो । यसअघि पनि सोही स्थानमा गत साउन २८ गते पहिरो खसेर ३ दिन सडक अवरुद्ध भएको थियोे ।