• ३० वैशाख २०८२, मङ्गलबार

सडक निर्माण नसकिँदै दबिने समस्या

blog

ओभरलोडका कारण दबेको बेलहिया-बुटवल सडक । तस्विर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, भदौ ८ गते । मापदण्ड विपरीत अधिक भार वहनले रुपन्देहीका सडक जीर्ण बनेका छन् । जिल्लामा हालै बनेका पक्की सडक अहिले भत्किएर जीर्ण बनेका हुन् । 

सडक भत्किएपछि सर्वसाधारणलाई यात्रा गर्न कठिनाइ भएको छ भने दुर्घटनाको जोखिम बढेको छ । रुपन्देहीमा मात्रै होइन प्रदेशका तराईका जिल्लाहरुमा यो समस्या अधिक छ । रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक चार सयको हाराहारीमा मालवाहक गाडी नेपालतर्फ भित्रिन्छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी मालबाहक गाडीले ओभरलोड बोक्ने गर्छन् ।

सडक क्षमताअनुसार ६ चक्के गाडीले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १६ चक्केलाई ३०.२ टन मात्र ढुवानी गर्न सक्ने प्रावधान छ । तर बेलहिया नाकाबाट भित्रिने मालबाहक गाडीले १२० टनसम्म ओभरलोड बोक्ने गरेको पाइएको सडक डिजन कार्यालयको रेकर्डमा छ । यो मार्गको क्षमता बढीमा ३०.२ टन मात्रै हो ।

यस्तै, पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियामा पनि सडकको हालत उस्तै छ । यी जिल्लामा पनि मालबाहक सवारीले अधिक लोड बोक्ने गरेका छन् । चुरे पहाडका खानीबाट कच्चा पदार्थ ढुवानी गर्ने टिपर, बेलहिया, कृष्णनगर, रुपैडियाबाट आयात हुने औद्योगिक कच्चा पदार्थसहितका भारतीय मालवाहक गाडीले ओभरलोड बोक्ने गरेका छन्। ओभरलोडको अनुगमन र नियमन गर्नेतर्फ कसैको ध्यान गएको छैन ।

ओभरलोड बोकेर आउने गाडीकै कारण नेपालकै नमुना भनिएको बेलहिया–बुटवल व्यापारिक मार्गको सडक जीर्ण बन्दै गएको छ । सडकमा खाल्डाखुल्डी परेका छन्, कतै भत्किएको छ भने कतै सडक नै दबिएको छ । कम्तीमा आठ वर्ष पुनः मर्मत गर्न नपर्ने गरी डिजाइन गरेर निर्माण भइरहेको भनिएको सडक नै निर्माण सम्पन्न नहुँदै पुनर्निर्माण गर्नुपरेको छ । छोटो समयमै ओभरलोडका कारण सडक भत्किएपछि लामो समय टिकाउन ओभरलोड नियन्त्रण वा यसको पुनः डिजाइन गरेर निर्माण गर्ने मात्रै विकल्प देखिएको छ ।

भारतबाट आयात हुने फलाम, जिप्सम, फलामे एमएस ब्लेड, वायर, खरानी, उद्योगका चिम्नी बोकेका गाडी बढीमात्रामा ओभरलोड हुने गर्छन् । यस्तै, नेपालका विभिन्न ठाउँबाट यो सडक प्रयोग गरेर आउजाउ गर्ने दैनिक पाँच सय बढी चुनढुङ्गा बोकेका टिपरले ओभरलोड बोक्ने गरेका छन् । यस्ता गाडीको ओभरलोड नियन्त्रणमा कसैको ध्यान गएको पाइँदैन। अस्फाल्ट क्रंकिट प्रविधि प्रयोग गरी २०६९ सालबाट निर्माण सुरु भएको बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार अझै सम्पन्न भएको छैन ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यामप्रसाद पाण्डेले ओभरलोड नियन्त्रणका लागि विगतमा नेपाली ट्रक व्यवसायीहरुले आन्दोलन गरे पनि नियन्त्रण हुन नसकेको बताउनुभयो । राज्यले बनाएको नियम कार्यान्वयन भएमात्रै पनि ओभरलोड नियन्त्रण हुने उहाँले बताउनुभयो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले कतिपय ओभरलोड बोकेर भित्रिएका गाडीमा सामान पोल्ट्री गर्न नमिल्ने र त्यस्ता गाडी औद्योगिक क्षेत्रसम्म सिधै पुग्ने गरेको बताउँदै सामान पोल्ट्री गर्न सकिने ट्रकलाई भने पोल्ट्री गराएर मात्र छाड्ने गरिएको बताउनुभयो ।