• १८ वैशाख २०८२, बिहिबार

पर्यटकको पर्खाइमा खाँगे झरना

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, भदौ ८ गते । सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनमा रहेको खाँगे झरना पर्यटकको पर्खाइमा छ । हालसम्म प्रवर्धन र आवश्यक प्रचारप्रसारको अभावले ओझेलमा परेको खाँगे झरना पर्यटकको पर्खाइमा रहेको हो । प्राकृतिक रूपमै मनमोहक दृश्यसँगै सुन्दर र आकर्षक खाँगे झरना प्रशस्त पर्यटकीय सम्भावना बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको छ । कञ्चनजङ्घा पदमार्गनजिकको स्थानमा रहेको सुन्दर झरना पर्याप्त प्रचारप्रसार नभएकै कारण ओझेलमा परेको स्थानीय सन्तोष राई बताउनुहुन्छ । 

जिल्ला समन्वय समितिका सदस्यसमेत रहनुभएका राईले झरनाको मनोरम दृश्यले भने पर्यटकको मन लोभ्याउने गरेको बताउनुभयो ।

पछिल्लो समय आन्तरिक पर्यटक मात्र यो झरनाको भ्रमण तथा अवलोकन गर्न पुग्ने गरेका उहाँले बताउनुभयो । झरनाको प्रचारप्रसारसहित प्रवर्धन र विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हुने र आम्दानीको राम्रो स्रोत बन्नसक्ने उहाँको बुझाइ छ ।

झरनानजिक हरियाली चिया बगानसमेत रहेकाले यस क्षेत्रको स्वच्छ तथा सुन्दर वातावरणले नै पर्यटकलाई थप आकर्षित गर्ने सम्भावना रहेको स्थानीयवासी बताउँछन् । खाँगे झरना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना भएका कारण पछिल्लो समय झरनालक्षित स्थानीय योजना कार्यान्वयन गर्न भने सुरु गरिएको छ । 

वडाको प्रस्तावमा सिरिजङ्घा गाउँपालिकाबाट खाँगे झरना हुँदै तिम्बुङ पोखरी सडक योजनाका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । गत आवमा पनि गाउँपालिकाबाट पाँच लाख रुपियाँ बजेट विनियोजन भएको थियो । गाउँपालिकाको बजेटले झरना जोड्ने सडक निर्माण हुँदै आएको र अब प्रदेश तथा सङ्घीय सरकारसँग पनि पर्यटन प्रवर्धनको कार्यक्रम माग गर्ने योजना बनाइरहेको राईले बताउनुभयो । 

यता गाउँपालिकाका उपाध्यक्ष डा. चित्रकुमार माबो लिम्बूले उक्त झरनाको प्रवर्धन र विकासको योजनाका लागि सम्बन्धित वडा तथा स्थानीयवासीको पहल अपुग भइरहेको बताउनुभयो । वडास्तरबाट नै झरना लक्षित पर्यटनसम्बन्धी योजनामा आवश्यक प्रस्ताव नआएका कारण पनि झरना ओझेलमा परेको हुनसक्ने उहाँको भनाइ छ । पर्यटकीय सम्भावना बोकेका धेरै स्थल आवश्यक पहल–प्रयत्न नहुँदा पनि ओझेलमा पर्ने गरेको उहाँले बताउनुभयो ।