• १२ साउन २०८१, शनिबार

एनआरएनएको अध्यक्षमा अधिकारीको उम्मेदवारी

blog

काठमाडौँ, भदौ ८ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी नेतृत्वका लागि विनय अधिकारीले अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उहाँले सङ्घकोे संस्थागत विकासका लागि उम्मेदवारी दिएको बताउनुभयो । 

आगामी असोज ३० देखि कात्तिक ३ गतेसम्म हुने सङ्घको महाधिवेशन हुँदै छ । लामो समयदेखि सङ्घमै रहेर नेपालको हित र महिला सशक्तीकरणको पक्षमा काम गर्दै आएकाले आफू अब सङ्घको नेतृत्वमै रहेर काम गर्ने उद्देश्यले उम्मेदवारी घोषणा गरेको अधिकारीले बताउनुभयो । 

सङ्घको नेतृत्वका रूपमा नेपालको विकास र नेपालीको हितमा रहेर काम गर्ने उहाँको प्रतिबद्धता थियो । त्यस्तै गैरआवासीय नेपालीको सन्दर्भमा नेपाली नागरिकता, पैतृक सम्पत्तिमा हक अधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसला अनुसार भोटको अधिकार, भूतपूर्व गोर्खाको समान अधिकारजस्ता मुद्दामा आफूले प्रयत्न गर्ने उहाँको भनाइ थियो । 

उम्मेदवारी घोषणा गर्दै अध्यक्षका आकाङ्क्षी अधिकारीले आफ्ना २७ बुँदे एजेन्डा पनि सार्वजनिक गर्नुभएको छ । 

उहाँका एजेन्डामा परियोजना सञ्चालन गर्दा आवश्यकताका आधारमा साझेदारीदेखि देशको विकास प्रक्रियामा सङ्घलाई आबद्ध गर्ने, विदेशमा पढिरहेका विद्यार्थीलाई स्थानीय निकायमा स्वयम्सेवक बनाउने, सङ्घमा तथ्याङ्क व्यवस्थापन प्रणाली लागु गर्ने, अनुसन्धान तथा नवप्रवर्तन एकाइ स्थापना गर्नेलगायतका मुद्दा समावेश छन् । गोरखा फुजेलका अधिकारी विगत दुई दशकदेखि बेलायतमा रहेर शैक्षिक परामर्श उपलब्ध गराउने व्यवसायमा संलग्न हुनुहुन्छ ।