काठमाडौँ, भदौ ८ गते । देशकै ठुलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार रातिदेखि नियमित रूपमा प्याज भित्रिन थालेको छ । गत शनिबार भारतले प्याजमा ४० प्रतिशत निर्यात महसुल वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार थोरै आएर बजारमा भित्रिन छाडेको प्याज बुधबार रातिदेखि भित्रिन थालेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार साँझ २४५ मेट्रिक टन प्याज भित्रिएको छ भने बिहीबार साँझसम्म १५० मेट्रिक टन प्याज आएको छ ।
बजारमा भित्रिएको प्याजको भाउ पनि बढेर आएको छ । गएको आइतबार प्रतिकेजी ६१ रुपियाँमा बिक्री भएको प्याज बिहीबार भाउ बढाएर प्रतिकेजी ७८ रुपियाँ थोक मूल्य तोकिएको छ ।
भारतले निर्यात महसुल तोक्नेबित्तिकै कालीमाटी बजारका भित्रिने प्याजको ट्रक नै बजारबाहिरैबाट ‘गायब’ गरेका व्यापारीहरूले बिहीबारदेखि भने बिक्री गर्न थालेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले प्याजमा कालोबजारी गर्न खोज्ने व्यापारीका गोदाममा छापा हार्ने, खरिद वा बिक्री बिल पेस गर्न निर्देशन, मनलाग्दी मूल्य लिनेलाई जरिबाना गर्न थालेपछि कालीमाटी बजारभित्रबाटै प्याज बिक्री हुन थालेको हो । गएको सोमबार कालीमाटी बजारको थोक बजारको प्याजको भाउ प्रतिकेजी ११० रुपियाँ पु-याएका थिए । खुद्रा बजारमा भने प्याज प्रतिकेजीको १४० रुपियाँसम्म पुगेको थियो । खुद्रा बजारमा अहिले पनि प्रतिकेजी प्याजको भाउ ११० रुपियाँभन्दा माथि छ ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले बजारको अवस्था सामान्य भएसँगै भाउ पनि क्रमशः घटेको र अझै घट्ने बताउनुभयो । पछिल्लो पटक प्याजको लागत मूल्य नै बढेकाले पहिलेको जस्तो ६०/६१ रुपियाँमा झर्ने अवस्था नभए पनि प्रतिकेजी प्याज ७०/७५ रुपियाँमा पाइने अनुमान गर्न सकिने उहाँको भनाइ छ ।
अनुगमनको प्रभाव
बजार अनुगमन र मूल्य नियन्त्रणको जिम्मा पाएको वाणिज्य, आपूर्ति संरक्षण विभागको प्याज अनुगमनको सकारात्मक प्रभाव देखिएको छ । विभागले पछिल्लो तीन दिन प्याज केन्द्रित भएर अनुगमन गरेर व्यापारीका गोदाममा छापा हार्ने, व्यापारीका कागजात नियन्त्रणमा लिने र महँगो लिनेलाई जरिबाना गर्ने कार्य गरेकाले यसको प्रभाव देखिएको हो । यसबिचमा विभागले ३० वटा प्याजका गोदाम र थोक पसलको अनुगमन गरेमा आधालाई न्यूनतम २० र अधिकतम ५० हजार रुपियाँसम्म जरिबाना ग-यो भने अधिकांशलाई प्याज खरिदबिक्रीका बिलसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले प्याजको मूल्यको विषयमा विभागले गरेको अनुगमनको सकारात्मक प्रभाव देखिएको दाबी गर्नुभयो । थोकमा प्याजको मूल्य केही घटे पनि खुद्रामा अझै बढी लिएको भन्ने गुनासो आएकाले तिनीहरूको पनि अनुगमन गरेर कारबाही हुने उहाँको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याजमा लगभग ९९ प्रतिशत नै आयातमा भर पर्नु पर्छ ।