काठमाडौँ, भदौ ८ गते । नेकपा (माओवादी) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलाएको बताउनुभएको छ ।
राजधानीमा भएको एक कायक्रममा बोल्दै उहाँले भ्रष्टाचार विरोधी अभियान, ललिता जग्गा प्रकरण, सुन तस्करी कान्ड, मिटरब्याजलगायतका विभिन्न समस्याप्रति सरकारले चलाएको कदममा जनताले साथ दिएको बताउनुभयो ।
“सरकारले गरेका महत्वपूर्ण कामको स्वामित्व ग्रहण गर्ने र त्यसलाई स्थापित गर्न आवश्यक छ,” पूर्वऊर्जामन्त्री पनि रहनुभएका नेता शर्माले जोड दिँदै भन्नुभयो, “विगतमा पनि प्रचण्ड नेतृत्वको सरकारले १८ घण्टे लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउनुभएको थियो तर त्यसको स्वामित्व कहिल्यै लिनुभएको थिएन ।”
विगतका घटनालाई स्मरण गर्दै यस पटक सरकारले आपराधिक गतिविधिलाई निस्तेज पार्दै सामाजिक न्यायको क्षेत्रमा धेरै राम्रा कामकारबाही गरेको छ, सो कुरा जनतासमक्ष जस्ताको त्यस्तै जानुपर्छ, उपमहासचिव शर्माले भन्नुभयो ।
उहाँले नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा योसहित चार पटक सरकार चलाइसकेको अनुभव भएकाले पनि कर्मचारीतन्त्रलाई समयसापेक्ष सोही अनुसार प्रयोग गरेर जनताका समस्या र अभावलाई समाधान गर्नका लागि घर घरमा माओवादी भन्ने तीन महिने विशेष रुपान्तरण अभियान चलाइन लागेको बताउनुभयो ।