• ३१ वैशाख २०८२, बुधबार

प्रबलीकरण चाँडो सक्न निर्देशन

blog

काठमाडौँ, भदौ ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडाको प्रबलीकरण छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ।

सहरी विकासमन्त्री सीता गुरुङ, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र निर्माण व्यवसायीसहित बिहीबार निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले निर्माण व्यवसायीलाई द्रुत गतिमा काम गर्न लगाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो। सो अवसरमा उहाँले नियमित अनुगमन गरी द्रुत गतिमा काम अगाडि बढाउन लगाउनुभएको भन्दै मन्त्री गुरुङलाई धन्यवादसमेत दिनुभयो।

सहरी विकासमन्त्री गुरुङले जतिसक्दो चाँडो उद्घाटन गर्ने गरी काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो। निर्माण गुणस्तरीयतामा कुनै किसिमको कमी हुन नदिन उहाँले सचेत गराउनुभयो। ११९ वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेकामा पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग) को काम सम्पन्न भई सरकारलाई हस्तान्तरण भइसकेको छ। अहिले सो भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको छ।

सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का आयोजना प्रमुख कोषनाथ अधिकारीले आयोजनाको कार्यप्रगति प्रस्तुत गर्दै मुख्य संरचनाको निर्माण ९५ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “असोजभित्र मुख्य संरचना निर्माणको काम सम्पन्न हुन्छ। त्यसपछि फिनिसिङलगायतको भित्री काम सुरु गरिने छ।”

अन्य मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको बताउँदै उहाँले यस मोहडामा बहुमूल्य वस्तु र आकृति रहेकाले ‘न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त’ अनुसार विशेष सावधानी अपनाउँदै प्रबलीकरण भइरहेको स्पष्ट पार्नुभयो। कुल ४१ करोड रुपियाँको लागतमा भवनको प्रबलीकरण भइरहेको छ।