• २० असोज २०८१, आइतबार

बाढीले श्री मुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड क्षति

blog

बाढीको क्षतिबारे जानकारी गराइँदै । तस्बिर : रमेश पौडेल

रमेश पौडल

पोखरा, भदौ ५ गते । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –४ कागबेनीमा गत आइतबार साँझ कागखोलामा आएको बाढीले श्री मुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।

मुक्तिनाथ सन्त सेवाश्रम, रामघाटले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । करिब ३५ वर्ष पहिलेबाट निःशुल्क भोजन तथा आवासको सेवा प्रदान गर्दैआएको श्री मुक्तिनाथ अन्नदान क्षेत्र कागबेनीका सम्पूर्ण भौतिक संरचना सो बाढीले पूर्ण रूपमा क्षति गरेको छ । 

बाढीका कारण अतिथिको भोजन आवासको सेवाका लागि आवश्यक खाद्यान्न, विस्तार, सिरक डस्ना, कम्बल, सय जनाका लागि भोजन बनाउने भाँडाहरू, ३० वटा सिलिण्डर, मन्दिरका बहुमूल्य गहना, चाँदीका भाँडाकुँडालगायत सम्पूर्ण भौतिक संरचनाहरू गरी ५ करोड बराबरको सम्पत्तिको क्षति भएको सेवाश्रमका अध्यक्ष महेश पराजुलीले जानकारी दिनुभयो ।

अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथ बाबा) ले श्री मुक्तिनाथ, दामोदरकुण्ड एवं तीर्थश्राद्धको लागि जाने कागबेनीधाममा जाने भक्तजनको सेवा गर्ने उद्देश्यले भौगोलिक हिसाबले विकट मुस्ताङको कागबेनीधाममा श्रद्धेय श्री मुक्तिनाथ बाबाको सङ्कल्पगत नेतृत्वमा सहयोगीहरूको अथक प्रयासबाट अतिथिआश्रमको निर्माण गरिएको बताउनुभयो ।

स्वामी कमलनयनाचार्यले भौतिक क्षति मात्र नभएर आध्यात्मिक र भावनात्मक क्षति भएको बताउनुभयो । बाढीले काली गण्डकीमा रहेको अलौकिक शालिग्राम शिला पनि बगाएको छ, त्यो नै हाम्रो लागि झन् ठुलो क्षति भएको उहाँको भनाइ छ ।

यसअघि आवश्यकताअनुरूप अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटिवेल ट्रष्टको माध्यमबाट ध्यानकुटी, अतिथि सभागृह, हक्नमण्डप, सभागृह, स्नान गृह रहेको थियो । पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको सहयोगमा हेलिकप्टरको माध्यमबाट मेटल ढुवानी गरी श्रीगण्डकी शालिग्राम मन्दिरलगायत भौतिक संरचना निर्माण भएको उहाँले स्मरण गर्नुभयो ।

यस विपद् घडीमा तत्कालीन समस्या पूर्तिका लागि श्रद्धेय श्री मुक्तिनाथ बाबाको संयोजनमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समिति र ट्रष्टका माध्यमबाट यथासम्भव आपत्कालीन राहत उपलब्ध गराउने जानकारी दिनुभयो ।