• १ जेठ २०८२, बिहिबार

मिथिलाञ्चलमा झुलनोत्सव सुरु

blog

महोत्तरी समाचारदाता

महोत्तरी, भदौ ४ गते । मैथिलीको एक अभिन्न संस्कृतिका रूपमा रहेको झुला पर्व सुरु भएको छ । राधाकृष्ण, सीतारामको मन्दिरमा पूजापाठ गरी भगवान्का प्रतिमा डोलामा (पिङ झुला) मा राखेर झुलाउने पर्वलाई झुला पर्वका रूपमा चिनिने गरिएको छ । मिथिलाको विभिन्न मठमन्दिरमा हरेक वर्ष मनाइने यो झुला पर्व महोत्तरी जिल्लाको प्रसिद्ध मटिहानीस्थित लक्ष्मीनारायण मठबाट सुरु भएको छ । 

झुला पर्व शुभारम्भको अवसरमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले प्रसिद्ध लक्ष्मीनारायण मठबाट झुला घर पु-याउनुभएको थियो । लावालस्कर बाजागाजा तथा मङ्गल गानका साथ भव्य जुलुस निकाली मणिपर्वत पर्व गरिएको र त्यसपश्चात् साँझदेखि स्थानीय मठ मन्दिरमा धार्मिक रीति अनुसार झुलनोत्सव सुरु भएको प्रमुख मण्डलले जानकारी दिनुभयो । 

जनश्रुति अनुसार सीताको माइतीमा दाइजोका रूपमा प्राप्त मणिहरू महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृति स्वरूप झुला उत्सवको प्रारम्भमा मणिपर्वत मनाउने परम्परा रहेको छ । त्रेता युगमा भगवान् राम र सीताको शुभविवाहको उपलक्ष्यमा मिथिलाका विदेह राजा शिरध्वज जनकले अयोध्यावासीलाई उपहार स्वरूप दिएको सुनचाँदी तथा मणिको भार मिथिलाको राजधानी जनकपुरधामको रङ्गभूमि मैदानमा थुपारिएको रामायण तथा धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार यो पर्व प्राचीन समयदेखि आएको जनविश्वास छ ।

सम्पूर्ण मिथिलाञ्चलमा साउन शुक्ल पक्षभरि हरेक मठ मन्दिरमा झुलनोत्सव हर्षोल्लासपूर्ण रूपमा मनाइने गरिएको छ । जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, दशरथ मन्दिर र मटिहानीको लक्ष्मीनारायण मठमा यस लोकोत्सवको मुख्य आकर्षण केन्द्रका रूपमा मिथिलाञ्चलमा प्रसिद्ध छ । 

झुलनोत्सव पर्वका अवसरमा भगवान् राधाकृष्ण, सीतारामलगायतका लागि पूजापाठका रूपमा गीतनाद गर्ने चलन रहेको छ जसलाई कजरी भनेर भनिन्छ । पहिला पहिला रातभरि मन्दिरहरूमा कजरी गाएर भगवान्को भजन कीर्तन गर्ने चलन रहेको बुढापाकाहरू बताउँछन् । साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने सो झुलनोत्सवको अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा राखेर बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखेर भजनकीर्तन 

गर्दै झुलाघरमा लगिने गरिएको छ । भगवान् रामसीता साउन महिनामा यसै गरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । 

हुन त यो पर्व मिथिलाबाहेक भारतको प्रसिद्ध वृन्दावन, मथुरा आदि क्षेत्रमा समेत धुमधामका साथ मनाइने परम्परा रहेको छ । यो पर्व समाप्त भएको भोलिपल्ट जनै पूर्णिमा, क्वाँटी खाने, रक्षाबन्धन पर्व आदि मनाइने चलन रहेको छ ।