• ९ मंसिर २०८१, आइतबार

कुखुराको अवैध ओसारपसार नियन्त्रण गरिने

blog

काठमाडौँ, भदौ ४ गते । भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसारले आफूहरू मारमा परेको परेको कुखुरा उद्योगी व्यवसायीले बताएका छन् । 

आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, सङ्क्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालक पलायनको अवस्थामा पुगेको र उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर परेको भन्दै अवैध आयात नियन्त्रण गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका छन् । 

गृह मन्त्रालयमै भएको छलफलमा गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षक, कानुन मन्त्रालयका सहसचिव, भन्सार, पशु सेवा तथा वाणिज्य आपूर्ति विभागका महानिर्देशकहरू, क्वारेन्टाइन कार्यालयका अधिकारी र कुखुरापालनसँग सम्बन्धित उद्योगी व्यवसायी सहभागी थिए ।

छलफलमा सीमा क्षेत्रका नेपालका कोल्ड स्टोर वा फार्ममा स्टोर गरेर मरेका वा जिउँदा कुखुरा वा कुखुराजन्य पदार्थ निकटवर्ती बजारमा पठाउने गरेको भन्दै व्यवसायीले त्यसको प्रभावकारी नियन्त्रण गर्न माग गरेका थिए । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकाले कानुन नै संशोधन गरेर भए पनि यसको प्रभावकारी नियन्त्रण गरिने बताउनुभयो । अवैध रूपमा चलिरहेका, दर्ता नै नभएका वा दर्ता भएर पनि मापदण्ड पूरा नगरेका त्यस्ता सबै फार्महरूलाई प्रशासनमार्फत बन्द गराइने आश्वासन गृहमन्त्री श्रेष्ठले दिलाउनुभयो । “कानुन निर्माण, क्वारेन्टाइन व्यवस्थापन तथा अवैध ओसारपसार नियन्त्रण, सरकारले तीनै पाटोबाट पहल लिने छ,” उहाँले भन्नुभयो ।