बाबुराम देवकोटा
सिन्धुलीमाढी, भदौ ३ गते । सिन्धुलीको दुधौली नगरपालिका-२ स्थित मधुगङ्गा महादेव मन्दिरको दर्शन गर्न आएका भारतीय तीर्थयात्रीको मृत्यु भएको छ ।
भारतको सितामाडी घर भएका अन्दाजी ३५ वर्षका सुनील कुमारको मन्दिर जाने क्रममा ओरालो बाटो हिँड्दा लडेर टाउकोमा गम्भीर चोट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक कुमार १० वर्षीया छोरा सहित छिमेकीहरूसँग तीर्थयात्राका लागि उक्त मन्दिर आएका हुन् ।
प्रहरीका अनुसार यात्रुवाहक बसमा शनिबार दुधौली आएका उनीहरू मन्दिर जाने क्रममा आधा बाटो पैदल हिँडेपछि चौतारामा बास बसेका थिए । आइतबार बिहान मन्दिर दर्शन गर्न पैदल हिँडेर जाँदा मन्दिर नै नपुगी बाटोमा नै उनको मृत्यु भएको हो । मृतकको शव दुधौलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा राखिएको छ ।
उक्त मन्दिरमा बर्सेनि साउन महिनाभरि पँहेलु गेरु रङ्गको बस्त्र लगाएका भक्तजनको उपस्थितिमा बोलबम मेला लाग्दै आएको स्थानीयले बताएका छन् ।