• ३१ वैशाख २०८२, बुधबार

अवैध ओसारपसारको प्रभावकारी नियन्त्रण गरिने

blog

कुखुरा फार्म । फाइल तस्विर ।

काठमाडौं, भदौ ३ गते । कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नै नसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन् ।

आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेनटाइन, सङ्क्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालकहरू पलायनमा पुगेको र उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकुल असर परेको चर्चा आज गृह मन्त्रालयमा आयोजित छलफल तथा अन्तरक्रिया बैठकमा गरिएको हो ।

अवैध ओसारपसारबारे कुखुरा उद्योगी व्यवसायीको गुनासो बढ्दै गएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशेष चासो दिएर अन्तरक्रियात्मक बैठक आयोजना गर्न निर्देशन दिनुभएको थियो । बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षकहरू, कानुन मन्त्रालयका सहसचिव, भन्सार, पशु सेवा तथा वाणिज्य-आपूर्ति विभागका महानिर्देशकहरू, क्वारेनटाइन कार्यालयका अधिकारी र कुखुरा पालनसँग सम्बन्धित उद्योगी व्यवसायीहरू सहभागी हुनुहुन्थ्यो ।

सीमा क्षेत्रका नेपालका कोल्ड स्टोर वा फर्ममा स्टोर गरेर मरेका वा जिउँदा कुखुरा वा कुखुराजन्य पदार्थहरू सहर र बजारतिर पठाइने गरेकोमा त्यसको प्रभावकारी नियन्त्रण गर्नुपर्नेमा बैठकमा मुख्य जोड दिइएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकोले कानुन नै संशोधन गरेर भएपनि यसको प्रभावकारी नियन्त्रण गरिने बताउनुभयो ।

अवैध रूपमा चलिरहेका, दर्ता नै नभएका वा दर्ता भएर पनि मापदण्ड पुरा नगरेका त्यस्ता सबै फार्महरूलाई प्रशासनमार्फत बन्द गराइने विश्वास गृहमन्त्री श्रेष्ठले दिलाउनुभयो । कानुन निर्माण, क्वारेनटाइन व्यवस्थापन तथा अवैध ओसारपसार नियन्त्रण, सरकारले तिनै पाटोबाट पहल लिने र प्रतिकुलताका बीचमा पनि सहयोगात्मक भावना देखाएकोमा कुखुरा उद्योगी, व्यवसायी तथा किसानप्रति गृहमन्त्री श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो ।