वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र (सुनसरी), भदौ ३ गते । वराहक्षेत्र मन्दिरमा शनिबार भगवान् वराहको उत्पत्ति भएको दिनको अवसरमा विश्व शान्तिको कामना गर्दै विशेष पूजा अर्चना गरी भगवान् वराहको जन्म उत्सव मनाइएको छ ।
श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् आजकै दिन भगवान् वराहको उत्पत्ति भएको मानिन्छ । वराह भगवान्को उत्पत्ति भएको दिनको अवसरमा विश्व शान्तिको कामना गर्दै मन्दिरमा गीता पाठ, वराह चरित्र पाठ, वराह भगवान्को अर्चनासहित विशेष पूजा गरेर भगवान् वराहको जन्म उत्सव मनाइएको वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताउनुभयो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ मा भगवान् विराजमान भएको स्थान वराहक्षेत्र धाममा विशेष पूजा अर्चना गरी जन्म उत्सव मनाइयो । प्रेमको प्रतिक मानिने भगवान् वराहको जन्म जयन्तीको दिन भगवान्को नाममा व्रत बस्ने, अर्चना गरे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।
हिन्दु धर्मावलम्बीहरूले आजको दिन व्रत बसेर भगवान् वराहको पूजा गर्ने प्रचलन रहेको छ । श्रद्धालु भक्तजनले व्रत बसेर पूजा गरेको संरक्षण मञ्चका सचिव घिमिरेले बताउनुभयो । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् वराहले जङ्गली जनावरको रूप धारण गरी बँदेलको भेषमा रक्षा गरी संसारभरका प्राणीको रक्षा गरी संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख रहेको छ ।
पौराणिक कथा अनुसार भगवान् वराह तथा वराहक्षेत्र धामलाई संसारको पहिलो धामका रूपमा व्याख्या गर्ने गरिएको सचिव घिमिरेले बताउनुभयो । भगवान विष्णुको १० अवतारमा पहिलो अवतार मत्स्य अर्थात् माछा, दोस्रो अवतार कूर्म अर्थात् कछुवा, तेस्रो अवतार भगवान् वराह, चौथो अवतार नृसिंह, पाँचौँ अवतार वामन, छैटौँ अवतार पर्शुराम, सातौँ अवतार भगवान् राम, आठौँ अवतार कृष्ण, नवौँ अवतार भगवान् बुद्ध र दशौँ अवतार कल्की रहेको वराहक्षेत्र मन्दिरका मुल पूजारी किरण भण्डारीले बताउनुभयो ।
नेपालका ऐतिहासिक महìव बोकेको क्षेत्रमध्ये वराहक्षेत्र धाम पनि एक हो । धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेको मन्दिरमा नेपाल, भारत, भुटान, बङ्गलादेशलगायत विश्वका विभिन्न देशबाट धार्मिक पर्यटकहरू आउने गरेको पूजारी भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “ब्रह्मपुराण वराह पुराण र स्कन्दपुराणलगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत महिमा गाइएको चार धाम मध्येको एक देवस्थलका रूपमा रहेको छ ।”
वराहक्षेत्र संरक्षणका सचिव घिमिरेका अनुसार वराहक्षेत्रमा वराहको मूर्तिसहित लक्ष्मी, पाञ्चायन, गुरु वराह, सूर्य वराह, कोका वराह र नागेश्वरलगायतका नौ वटा मन्दिर र धर्मशाला रहेका छन् । करिब १५ सय वर्षअघिदेखिका मूर्तिहरू रहेका छन् ।