जानु पाण्डे
कपिलवस्तु, भदौं २ गते । गुडरुङ खोलाले खेती गर्ने जमिन कटानगरी बगरमा परिणत गरेपछि कृषकले क्षति बेहोर्नुपरेको छ । बुद्धभूमि नगरपालिका हुँदै बग्ने खोलाले पालिकाको ७ वटा वडामा वर्सेनी कटान गर्दैआएको छ ।
हरेक वर्ष खेतीयोग्य भूमिमा क्षति गरे पनि जनप्रतिनिधिले चासो नदिएको स्थानीयको गुनासो छ । कटान नियन्त्रण गर्न सरकारी तवरबाट केही स्थानमा तटवन्ध निर्माणका काम भए पनि सबै ठाउँमा नहुँदा वर्सेनी कटान भएको लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले बताउनुभयो ।
खोलाले कटान भएको क्षेत्रको अवलोकन गर्दै उहाँले समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो । खोलाले वडा ९, ८, ४, ५, ६ का भूमि कटान गर्दैआएको छ । पुल्चोक, पाण्डेडिहवा क्षेत्रमा खोलाको धार आधा किलोमिटर पश्चिमतर्फ पुगेको छ ।
सो क्षेत्रमा हरेक वर्ष खेत कटान हुँदैआएको स्थानीय शंकर खनालले बताउनुभयो । बेल नदी र गुडरुङको कटानले वडा नम्बर ८ को दरखसवा गाउँको उत्तरतर्फको बस्ती जोखिममा रहेको छ । यसैगरी अमहवा, चरीगवा, झुसिया, वडा नम्बर ६ को लक्ष्मणपुर, वैरीहवाका खेतीयोग्य भूमि समेत कटान गर्दैआएको वडा –८ का अध्यक्ष कपिलदेव तिवारीले बताउनुभयो ।
तटवन्ध निर्माण नहुँदा धेरै कृषकका खेतीयोग्य जमिन बगरमा परिणत हुँदैगएको सामाजिक अभियनता शिवलाल यादवले बताउनुभयो । विपन्न समुदायको बसोवास रहने क्षेत्र भएको हुँदा समस्या समाधान गर्न राजनीतिक दलको चासो नरहेको यादवको दावी छ ।