• २८ वैशाख २०८१, शुक्रबार

नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्त्वपूर्ण : मन्त्री देउवा

blog

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा ।

धनगढी, भदौ २ गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदूरपश्चिमको ठुलो योगदान रहेको बताउनुभएको छ ।

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारण सभाको उद्घाटन समारोहमा मन्त्री देउवाले नेपाली क्रिकेटको व्यवस्थापन, समन्वय र खेलाडी उत्पादनका दृष्टिकोणले सुदूरपश्चिमले सधैँ अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो । सुदूरपश्चिमको क्रिकेटलगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनलगायत काम अघि बढाइएको जानकारी दिनुभयो ।

“क्रिकेटसँगै सुदूरपश्चिमको खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । प्रदेशको खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद्ले परिणाममुखी काम देखाउन बाँकी रहेको मन्त्री देउवाको भनाइ थियो । 

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको बताउनुभयो । उहाँले नेपालको क्रिकेट विकासका लागि अहिले स्वर्णिम समय रहेको उल्लेख गर्नुभयो ।

“नेपाली क्रिकेट खेलाडीलाई न्यून पारिश्रमिक दिएर  खेलाउनु परिरहेको छ”, क्यान अध्यक्ष चन्दले भन्नुभयो, “सातवटै प्रदेश सरकारले कम्तीमा पाँच खेलाडीलाई आत्मनिर्भर बनाउने गरी खेलकुदका योजना अगाडी बढाउनुपर्ने आवश्यकता छ ।” नेपाली क्रिकेटमा अब नाम र दाम कमाउन सक्ने वातावरण बनेको उल्लेख गर्दै उहाँले सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको बताउनुभयो । उहाँले नेपालको क्रिकेटको विकासका लागि क्यान सदैव सक्रिय रहँदै आएको बताउनुभयो ।

साधारण सभामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका क्रिकेट सङ्घका प्रतिनिधि सहभागी छन् । रासस