रुकुमपूर्व समाचारदाता
रुकुमपूर्व, भदौ २ गते । पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत १४२ जना करार शिक्षकले आठ महिनादेखि तलब पाएका छैनन्। शिक्षकले सम्झौता अनुसारको तलब पाउनुपर्ने माग गरेका छन्।
गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदै शिक्षकले समस्या समाधानको माग गरेका हुन्। शिक्षक हर्कबहादुर खड्काले भन्नुभयो, “हामीलाई काम गरेबापत दिने भनिएको ज्याला नपाउँदा हाम्रो दैनिकी चल्न गाह्रो परेको छ।”
ज्ञापनपत्रमा आगामी भदौ १० भित्र यो समस्या समाधान नभएमा सङ्घर्षका कार्यक्रम तय गरेर अघि बढ्ने उल्लेख गरिएको छ। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले माध्यमिक र बालविकास तहका शिक्षकलाई २०७९ साल भदौ १ गतेदेखि र निम्न माध्यमिक तह र प्राथमिक तहका शिक्षकलाई २०७९ साल कात्तिक १४ मा नियुक्ति दिएको बताउनुभयो।
अघिल्लो वर्ष माघ १० सम्मको तलब भत्ताको व्यवस्था गरिएको बताउँदै उहाँले त्यसपछिको तलब खुवाउन भने गाह्रो भएको स्विकार्नुभयो। नेपाल सरकारको सामान्यीकरण अनुदान र सङ्घीय राजस्व बाँडफाँटबाट रकम व्यवस्था गर्ने भनेर भनिएकोमा उक्त रकम खातामा जम्मा हुन नसकेको खड्काले जानकारी दिनुभयो।
पालिकाको स्रोतलाई ख्यालै नगरी आवश्यकताभन्दा धेरै करार शिक्षक भर्ना गर्दा अहिले यो समस्या आएको प्रमुख खड्काको भनाइ छ। उहाँले भन्नुभयो, “बढीमा एक सय जनासम्मलाई व्यवस्था गर्न सकिने थियो तर ४२ जना बढी भए। यसले गर्दा समस्या भयो। तलब भत्ताबापत मात्रै वर्षमा करिब चार करोड खर्च हुन्छ।”