बाइसे–चौबिसे राज्य, काठमाडौँ उपत्यकाका तीन वटा मल्ल राज्य र तराई क्षेत्रमा रहेका तीन वटा सेन राज्यमध्ये सबैभन्दा कान्छो र गरिब राज्य गोर्खाको इतिहास विसं १६१६ बाट सुरु हुन्छ । वर्तमान नेपाल, सेना र गोर्खा राजवंशको क्रम त्यही वर्ष र स्थानबाट सुरु भएको तथ्य घामजत्तिकै छर्लङ्ग छ । विश्वको सैनिक इतिहासमा नेपाली सेनाको इतिहास धेरै जेठो छ । हामी नेपालीका लागि यो गौरवको विषय हो ।
गोर्खा राज्यको इतिहास केलाउँदा र त्यस बखतको संसारकै राज्य विस्तार गर्ने नीतिलाई विश्लेषण गर्दा गोर्खाले पनि विसं १६१६ देखि नै सैनिक प्रयोग गरी राज्य विस्तार गर्दै आएको छ । किनभने द्रव्य शाहको छोरा राजा पुरन्दर अर्थात् पूर्ण शाहले गोर्खा राज्यको विस्तार गरेका थिए भने उनको पनि छोरा राम शाहले उत्तरतर्फ तिब्बतको कुकुरघाटसम्म सैनिक युद्ध गरेरै आफ्नो अधिकार जमाएका थिए ।
तत्कालीन कान्तिपुरको राजाविरुद्ध पाटनका राजा सिद्धिनरसिंह मल्लले सैन्य सहयोग माग्दा राम शाहको छोरा डम्बर शाह स्वयम् ठुलो फौजको नेतृत्व गरी काठमाडौँ उपत्यका पुगेको तथ्य इतिहासले देखाएको छ । त्यसै गरी डम्बर शाहका नाति रुद्र शाहको राज्यकाल विसं १७२८ मा गोर्खा, पाटन र भक्तपुरको संयुक्त सेना भई मकवानपुरविरुद्ध लड्न गएको तथ्य पनि भेटिन्छ ।
पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले नुवाकोटमाथि असफल हमला गरेका थिए । उनको मृत्युपछि मात्र उनको छोरा पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट जित्न सफल भएका हुन् । माथिका उदाहरणले द्रव्य शाहदेखि नै नेपाली सेनाको क्रम रहेको दरिलो प्रमाण हुँदाहुँदै नेपाली सेनाको स्थापना मितिलाई आफूखुसी लेखिनु दुर्भाग्य हो । विसं १६१६ बाट नै नेपाली सेना राज्य विस्तार तथा नेपाल एकीकरण अभियानमा अविच्छिन्न लागिपरेको थियो । पूर्वमा टिष्टा र पश्चिममा काँगडा पुगेर बृहत् नेपाल निर्माण गरेको हो ।
नेपाली सेनाले पृथ्वीनारायण शाहको पालाको सुरुमा तिलङ्गा, नुवाकोट विजयपछि गोर्खाली सेना, चन्द्रशमशेरको पालामा नेपाली सेना, राजा महेन्द्रको पालामा शाही सेना, राजा वीरेन्द्रको पालामा शाही नेपाली सेना र विसं २०६३ पछि बनेको सरकारबाट पुनः नेपाली सेनाको नाम पाई आफ्नो ४६४ वर्ष पार गरी सकेको छ ।
सैनिक इतिहासमा नेपाली सेनाले पनि आफ्नो स्थापना वर्ष पृथ्वीनारायण शाहको नेपाल एकीकरणको श्रीगणेश तथा नुवाकोटको विजय युद्ध विसं १८०१ साललाई मान्दै आएको छ । कतिपयले पृथ्वीनारायण शाहले विसं १८२५ मा कान्तिपुर विजय गरेपछि मात्र नेपाली सेनाको स्थापना भएको मानेर ‘२४० वर्षको राजसंस्था र सेना’ भन्दै अएका छन् ।
आधुनिक नेपाली सेनाको जन्मदाता पृथ्वीनारायण शाह नै हुन् । यद्यपि विसं १६१६ मा गोर्खा राज्यको स्थापना भएको समयबाट हेर्दा नेपाली सेना २०८० सालमा ४६४ वर्ष पुगेको छ । अर्को तथ्य के हो भने विसं २०६३ मा अर्थात् राजा ज्ञानेन्द्रको समयसम्म यो राजवंशले ४४७ वर्ष शासन गरेको थियो । हाम्रा नेता अनि इतिहासकारले २४० वर्षको राजासंस्था भनेको र लेखेको देखिन्छ । हाल गोर्खामा रहेको लिगलिगकोटका राजा द्रव्य शाहले भगीरथ पन्तलाई पहिलो सेनापति बनाई नेपाली सेना खडा गरेको हो ।
इतिहास भन्ने कुरो प्रमाणको आधारमा तयार हुन्छ । नेपाली सेनाको इतिहास विसं १६१६ नभई १८०१ साल बनाई १८५ वर्ष कान्छो बनाएमा अन्याय हुन्छ । कुनै पनि व्यक्तिले ऐतिहासिक तथ्यलाई नकेलाई यो होइन भनेमा प्राज्ञिक मर्यादाबाहिर जान्छ । आधुनिक नेपाली सेनाको विकास क्रम अवश्य पनि पृथ्वीनारायण शाहले गरेका हुन् तर विसं १६१६ देखि विसं १८०० सम्म सेनामा झारा प्रथा तथा घर धुरी मान्छे बोलाउने व्यवस्था थियो । सेनाका कुनै पनि कम्पनी खडा भएका थिएनन् । विसं १८१९ मा मकवानपुर गढीमा मुगल बादसाह अन्तर्गतका सेनापति मीरकासिमको फौजसँग लडी ती बैरीबाट खोसिएका हातहतियारबाट श्रीनाथ, वर्जवाणी, पुरानो गोरख, कालीबक्स र सवुज कम्पनीलगायत पाँच वटा कम्पनी स्थापना भएका थिए । यसपछि नेपालको आधुनिक सेनाको सुरुवात भयो । वर्जवाणी कम्पनीलाई हाल बर्दबहादुर भनेर नाम दिइएको छ । यो सरासर गल्ती भएको छ । सेनाको कम्पनीहरूले एक पटक नाम र निशान पाइसकेपछि कहिल्यै पनि फेरिँदैन ।
विसं १८१९ मा मकवानपुर गढीमा मुगल बादसाह अन्तर्गतका सेनापति मीरकासिमको फौजसँग लडी ती बैरीबाट खोसिएका हातहतियारबाट श्रीनाथ, वर्जवाणी, पुरानो गोरख, कालीबक्स र सबुज कम्पनीलगायत पाँच वटा कम्पनी स्थापना भएका थिए । यसपछि नेपालको आधुनिक सेनाको सुरुवात भयो ।
विसं १६१६ मा स्थापित लिगलिगकोट राज्यको विकास क्रम बृहत् नेपाल हो । यो राज्य स्थापना गर्ने द्रव्य शाहका सन्तानको निरन्तरता ज्ञानेन्द्र शाहसम्म भएको छ भने द्रव्य शाहले नियुक्त गरेको पहिलो सेनापति भगीरथ पन्त हुन् । भगीरथकै मातहतमा खडा भएका सेनाको क्रम अहिलेको नेपाली सेना हो । गोर्खा राज्यको लगलिगकोटबाट सुरु भई गोर्खा, नुवाकोट, कान्तिपुर, टिष्टा नदीबाट काँगडा पुगेर बृहत् नेपाल बनेको हो ।
लमजुङको राजकुमार द्रव्य शाह विसं १६१६, भाद्र वदी, अष्टमी तिथि, रोहिणी नक्षत्र, बुधबारको दिन लिगलिगकोटको राजा भएका थिए । सोही मितिबाट द्रव्य शाहले नारायण अज्र्याललाई राजगुरु, सर्वेश्वर खनाललाई राज पुरोहित, गणेश पाण्डेलाई प्रशासन हेर्ने मन्त्री, भगीरथ पन्तलाई सेनापति, केशव बोहोरालाई भूमि विभागको प्रमुख तथा गङ्गाराम रानामगरलाई प्रधान न्यायाधीश (न्याय विभाग प्रमुख) नियुक्त गरेका थिए । प्रशासन हेर्ने एक, सेना हेर्ने एक, भूमिसम्बन्धी हेर्ने एक, न्याय हेर्ने एक गरी जम्मा चार जना काजी (मन्त्री) को व्यवस्था भएको थियो । यो प्रथा पछिसम्म पनि रह्यो । त्यही मितिबाट सैनिक सङ्गठन खडा भएकाले तिनै सेनाको विकास क्रम अहिलेको नेपाली सेना मान्नुपर्ने पङ्क्तिकारको अडान छ । नेपाली सेनाको पहिलो सेनापति भने भगीरथ पन्त हुन् । उतिखेर सेना हेर्ने काजी अर्थात् सेनापतिलाई प्रधान सेनापतिको जिम्मेवारी दिइन्थ्यो । त्यस बेला लिगलिगकोट, उपल्लोकोट, तल्लोकोटलगायत थुप्रै साना भुरे राज्य थिए । ती सबैलाई द्रव्य शाहले एकीकरण गरेर एउटै राज्य बनाई, पहिलो पटक गोर्खा नामकरण गरी गोर्खा राज्य स्थापना गरे ।
अर्को कुरो, तिलङ्गा, गोर्खाली सेना, नेपाली सेना, शाही सेना, शाही नेपाली सेना र पुनः नेपाली सेनाको नामबाट हुर्कंदै गएको यस संस्थालाई पृथ्वीनारायण शाहको पालामा नेपाली सेना भनिएको थिएन । पछि राजा त्रिभुवनको समयमा चन्द्रशमशेरको पहलमा माात्र गोर्खा सरकारको सट्टा नेपाल सरकार, गोर्खाली सेनाको सट्टा नेपाली सेना, राजालाई हिज हाइनेसको सट्टा हिज मेजेस्टी र प्रधानमन्त्रीलाई हिज एक्सिलेन्सी भन्न सुरु गरिएको हो ।
कान्तिपुरलाई नेपाल भनिन्थ्यो र कान्तिपुर १८२५ सालमा कब्जा भएपछि गोर्खा राज्य नेपाल भएको थियो र त्यसपछि मात्र अहिलेको सेना नेपाली सेना भएको भन्ने व्यक्तिगत भनाइलाई जोड दिएर नेपालको गोर्खाली राजसंस्था र सेनाको इतिहासलाई समेत हाल आएर ‘२४० वर्ष’ भन्न थालिएको छ, जसमा कुनै ऐतिहासिक तुक छैन । विशाल नेपाल टुक्रिएर बाइसे–चौबिसे र काठमाडौँ उपत्यकाका तीन वटा राज्यसमेत खडा भएका थिए । यसर्थ कान्तिपुर राज्य पनि टुक्रिनुभन्दा पहिलाको विशाल नेपालकै एक टुक्रा थियो । कान्तिपुर राज्य आफैँ नेपाल थिएन ।
गोर्खा राज्यको स्थापना र इतिहासलाई पन्छाएर नेपाल र नेपाली सेनाको इतिहास लेख्न सकिँदैन । लिगलिगकोटबाट सुरु भई गोर्खा राज्य स्थापना भएको थियो र त्यही कुरालाई राष्ट्रिय इतिहासले मानेको छ भने विसं १६१६ मा नै नेपाली सेनाको स्थापना भएको हो ।
काठमाडौँ उपत्यकामा समेत भक्तपुर, ललितपुर र कान्तिपुर नामका राज्य थिए । भावनात्मक रूपले र नेपालको पुरानो राजधानी भएकाले मात्र काठमाडौँ उपत्यकालाई नेपाल भनिएको हो तर जमिनमा नेपाल भन्ने राज्य पृथ्वीनारायण शाहले विसं १८२५ को इन्द्रजात्राको दिनबाट दिएका थिए ।
गोर्खा राज्यको स्थापना र इतिहासलाई पन्छाएर नेपाल र नेपाली सेनाको इतिहास लेख्न सकिँदैन । लिगलिगकोटबाट सुरु भई गोर्खा राज्य स्थापना भएको थियो र त्यही कुरालाई राष्ट्रिय इतिहासले मानेको छ भने विसं १६१६ मा नै नेपाली सेनाको स्थापना भएको हो । यद्यपि हामीले विसं १८०१ भन्दा पहिलाको करिब ५३ वटा जति स–साना राज्यमा विभक्त सबैको सैनिक महत्वका इतिहास पनि लेख्नु जरुरी छ । हालसम्म प्राप्त इतिहासमा प्रायः सबै इतिहासले केवल गोर्खा राजवंश र तिनका मात्र बेलिविस्तार लगाएकाले नेपालको सैनिक इतिहास खण्डित छ भने हुन्छ । यसै गरी नेपालका राष्ट्रिय विभूतिहरू, प्रधानमन्त्रीहरू, प्रधानसेनापतिहरूको छनोट र निक्र्योल कसले र कुन आधारमा गरे ? प्रस्ट हुन जरुरी छ । तत्कालीन राजदरबारलाई वशमा पार्ने र पहुँच हुने केही जात र व्यक्ति (प्राज्ञसमेत) को छनोटबाट निर्धारण भएको भन्ने बुझियो । इतिहास लेखनको सुरुवात भयो तर त्यसको सत्यता र आधारहरूको खोजी हुनु जरुरी छ, आज । किनभने पृथ्वीनारायण शाहले विसं १८०० मै विराज थापा मगरलाई सेनापति काजी दिएर नुवाकोट कब्जा गर्न लगाए । उनले काममा ढिलो गरेपछि उनको कज्याइ खोसेर महेश्वर पन्तलाई सेनापति काजी बनाई नुवाकोटमाथि हमला गरियो । त्यो हमला असफल भएपछि पृथ्वीनारायण शाहले विसं १८०१ को भदौतिर कालु पाण्डेलाई मूलकाजी बनाए । वास्तवमा विसं १८०१ मा सेना हेर्ने सेनापति काजी शिवरामसिंह बस्न्यात थिए ।
अनि पृथ्वीनारायण शाहले आफू र दुई जना भाइहरूको नेतृत्वमा नुवाकोटमाथि तीनतिरबाट हमला गरी विजय प्राप्त गरे । तीनतिरबाट हमला गर्दा युद्धको सञ्चालन आफैँले गरेका र आफैँ पनि लडेका थिए । आधुनिक नेपालमा पृथ्वीनारायणको समयलाई मात्र समेट्ने हो भने विसं १८०० मा बनेका काजी विराज थापा मगर पहिलो सेनापति हुन् । यदि नियुक्तिले नै दिएको कमान्डर–इन–चिफलाई आधार मान्ने हो भने भीमसेन थापा पहिलो सेनापति हुन् ।
राज्यको आवश्यकतामा नै सेनाको विस्तार र विकास हुने हो । यही क्रममा गोर्खा राज्यको राजनीतिक इच्छाशक्तिले आफ्नो भू–भाग बढाउने सपना देखेर नै अन्ततः एक सङ्गठित सेनाको विकास भयो । पटक पटक नुवाकोटमा भएको लडाइँहरूमा गोर्खालीको हार भएपछि पृथ्वीनारायण शाहले समग्र भाइ, भारदार, जातजातिदेखि बीसे नगर्ची (दमाई) समेतको सल्लाह र आर्थिक सहयोगमा बनारस पुगी हातहतियार खरिद गरी ल्याए । साथमा तीन जना हतियार चलाउन र बनाउन जान्ने प्राविधिक मुसलमानहरू पनि ल्याए । नेपाली सेनाको विकासमा ती मुसलमानहरूको ठुलो योगदान छ । त्यही गुणले गर्दा पृथ्वीनारायणको पालादेखि ती मुसलमानको सन्तान नेपाली सेनाको हतियार बनाउने र मर्मत गर्ने अङ्गमा केही वर्षअघिसम्म कार्यरत थिए ।
त्यसपछि नेपाल एकीकरणको विभिन्न युद्ध हुँदै गयो र मकवानपुर राज्य र त्यस अन्तर्गतको सिन्धुली इलाकासमेत गोर्खालीले जितेपछि बङ्गालको नवाव मीरकासिमको फौजले विसं १८१९ मा मकवानपुर दरबार र गढीमाथि एक्कासि कब्जा गर्न आए । शत्रु पक्षको विशाल फौजलाई नेपाली सेनाको सानो फौजले अपत्यारिलो तरिकाले बर्बाद पा-यो । त्यहाँबाट करिब पाँच सय नाल राइफल र दुई वटा तोप खोसियो भने हजारौँ बैरी मारियो । तिनै हतियारबाट सोही वर्ष सेनाको इतिहासमा पहिलो पटक पाश्चात्य पाराले पाँच वटा कम्पनी खडा भए जसको नाम माथि दिइसकिएको छ । मकवानपुरको युद्धले दुई वटा अभिलेख राखेको छ । पहिलो हो, नेपाली सेनाले पहिलो पटक विदेशीसँग युद्ध गरेको र अर्काे हो– सेनाको कम्पनी तहको सङ्गठनात्मक रूपरेखा तयार भएको । त्योभन्दा पहिला क्रमिक सुधार गरिँदै द्रव्य शाहकै पाराको सैनिक व्यवस्था कायम थियो ।
उक्त युद्धको पाँच वर्षपछि विसं १८२४ मा कान्तिपुरका राजा जयप्रकाश मल्लको सहयोग र गोर्खालीहरूको विरुद्धमा प्रयोग गर्न कान्तिपु्रबाट बोलाइएका अङ्ग्रेज क्याप्टेन किनलकले नेतृत्व गरेको इस्ट इन्डिया कम्पनीको एक बाहिनी सेनालाई नेपाली सेनाले हालको सिन्धुली जिल्लाको पौवागढी, ढुङ्ग्रे भन्ज्याङ र ढुङ्ग्रेबास गरी तीन स्थानमा नराम्रोसँग हरायो र प्रशस्त हातहतियार खोसे । यसबाट आधुनिक हातहतियारको अझै विकास भयो र कम्पनीहरूको सङ्ख्या बढ्दै गए । उक्त युद्ध नेपालले अङ्ग्रेजसँग लडेको पहिलो लडाइँ थियो । यसलाई सिन्धुलीको लडाइँ भनिएको छ ।
अर्को कुरा सिन्धुलीगढी र पौवागढी कहाँ पर्छ ? भनी स्थलगत अध्ययन नगरी इतिहासमा पनि लेखिएको छ । वास्तवमा सिन्धुलीगढीमा विसं १८०१ पछि बैरीहरूसँग कुनै पनि युद्ध भएकै छैन । यति बेलासम्म नेपाली सेनाको विस्तार र विकास धेरै राम्रो भइसकेको थियो । त्यसपछि गएर राजा रणबहादुरको नायब राजकुमार बहादुर शाहको पालामा नेपालमा फ्रान्सेली कालीगढहरू र प्रशिक्षकहरू झिकाई तोप, राइफल, गोला तथा गोली बनाउने कामको विकास भयो । पाश्चात्य पाराको युद्ध विद्या सिकाइयो ।
सेनामा कप्तानको पद सिर्जना गर्ने बहादुर शाह नै थिए । पछि गएर काजी तथा कमान्डर–इन–चिफ भीमसेन थापाले नेपाली सेनालाई आधुनिकीकरण गर्न पुनः फ्रान्सेली नै कालीगढ, वास्तुविद् तथा प्रशिक्षक झिकाई थुप्रै प्रयास गरे । विसं १८१९ मा खडा भएको कम्पनी सङ्गठनलाई विकास गरी भीमसेन थापाले पल्टन (रेजिमेन्ट) र कम्पु (ब्रिगेड) मा विकास गरे । जङ्गी अड्डा र व्यारेक घरसमेत (छाउनी) को व्यवस्था गरे ।
हाल राष्ट्रिय सङ्ग्रहालय, छाउनीको भवन उनले बनाएको पहिलो सैनिक मुख्यालय थियो । कर्नेल, जनरल र कमान्डर–इन–चिफको पद सिर्जना गर्ने उनै थिए । पहिलो जनरल र कमान्ड–इन–चिफ उनै हुन् । मुख्तियार भीमसेन थापालाई इतिहासले प्राइम मिनिस्टर बनाएको छ । त्यसो होइन, नियुक्तिले नै मिनिस्टर र पछि प्राइम मिनिस्टर पाउने नेपालको पहिलो व्यक्ति माथवरसिंह थापा हुन् ।