• १३ साउन २०८१, आइतबार

कृषि अनुसन्धानका लागि सहकार्य

blog

काठमाडौँ, भदौ २ गते । कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई पक्षबिच भएको छलफलमा नीति निर्माणमा सहकार्य गर्ने सहमति भएको छ, सम्झौताका लागि तयारी भइरहेको उहाँले बताउनुभयो । 

नेपालको कृषि नीति विशेष गरी कृषि अनुसन्धानको नीतिलाई समयानुकूल परिमार्जन गर्न विशेष अध्ययन अनुसन्धानको आवश्यकता रहेको बताउँदै उहाँले कृषि अनुसन्धान, कृषि प्रसार, कृषि शिक्षा र कृषकबिचमा सहकार्य गर्न नीति निर्माणका लागि दुवै पक्षबिचमा सम्झौता हुने बताउनुभयो । 

कृषि अनुसन्धानको क्षेत्रमा प्रतिष्ठान र नार्कबिचमा सम्झौता भयो भने कोसेढुङ्गा साबित हुन नार्क अन्तर्गतको राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो । अनुसन्धानका लागि थुप्रै नीति आवश्यकता छ, त्यसका लागि प्रतिष्ठानसँग मिलेर नार्क अगाडि बढेको उहाँले बताउनुभयो । 

प्रतिष्ठानसँग हुने सहकार्य फलदायी हुने विश्वास आफूले लिएको बताउँदै उहाँले कृषि क्षेत्रमा अनुसन्धान नभएको होइन, ठुला ठुला अनुसन्धान भएका छन् तर त्यसलाई कार्यान्वयनमा ल्याउने, प्रचारप्रसार गर्ने, किसानसमक्ष पु-याउने खालको नीतिको अभाव रहेको बताउनुभयो । 

नीति अनुसन्धान प्रतिष्ठानका प्राकृतिक स्रोत तथा प्रविधि नीति अध्ययन केन्द्रका प्रमुख डा. दीपककुमार खड्काले नीति अनुसन्धान प्रतिष्ठान र नार्कबिच हुने यसखालका सहकार्यले कृषि अनुसन्धानका क्षेत्रमा ठुलो उपलब्धि हुने विश्वास आफूले लिएको बताउनुभयो ।