काठमाडौँ, भदौ २ गते । बाढीपहिरोले क्षति पुर्याउने भन्दै मेलम्ची खानेपानी आयोजनाको पानी बन्द गरिएपछि काठमाडौँमा बागमतीको पानी वितरण गरिएको छ । बाढीपहिरोले विगतका वर्ष झैँ आयोजनाको हेडवक्र्स र सुरुङमा क्षति पुर्याउन नदिन पूर्वतयारीस्वरूप असारको पहिलो हप्तादेखि मेलम्चीको पानी वितरण प्रणाली बन्द गरिएको छ ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मेलम्चीको पानी वितरण सुरु नहुन्जेल काठमाडौँमा पानीको समस्या हुन नदिन अस्थायी रूपमा बागमतीको पानी वितरण सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पाइपमार्फत बागमतीको पानी सुन्दरीजलस्थित आयोजनाको प्रशोधन केन्द्रमा खसालिएको छ । त्यहाँबाट प्रशोधित पानी आयोजनाको वितरण प्रणालीमा पठाएर काठमाडौँमा त्यसको वितरण सुरु गरिएको छ ।” बागमतीको पानी वितरणसँगै मेलम्चीको पानी नआउन्जेलसम्म काठमाडौँमा पानीको समस्या कम हुने विश्वास गरिएको उहाँले बताउनुभयो । बागमतीबाट थप पानी ल्याउन सकिने बताउँदै उहाँले त्यसका लागि थप संरचना आवश्यक रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी रोकिएपछि काठमाडौँमा पानीको समस्या देखिएपछि त्यसको अस्थायी समाधानका रूपमा बागमतीको पानी वितरण सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार दैनिक साढे पाँच करोड लिटर बागमतीको पानी काठमाडौँमा वितरण सुरु गरिएको हो । बागमती र अन्य स्रोत गरी अहिले दैनिक करिब १६ करोड लिटर पानी काठमाडौँमा वितरण भइरहेको छ । अहिले काठमाडौँ उपत्यकामा दैनिक करिब ४७ करोड लिटर पानीको माग छ । यसअघि मेलम्चीको मात्र १७ करोड लिटर पानी वितरण हुँदै आएको थियो ।