• ३१ वैशाख २०८२, बुधबार

बाढीले खानेपानी पाइप बगाउँदा करिब ५० लाखको क्षति

blog

खानेपानी मुहानको पाइप बगाउँदा स्थलगत अवलोकन गरिदै । तस्बिर : नमराज सुवेदी

नमराज सुवेदी

नुवाकोट, भदौ १ गते । वर्षाका कारण खानेपानी मुहानको पाइप बगाउँदा नुवाकोट सदरमुकाम विदुरलगायत नगरक्षेत्रमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न भएको छ । 

यसै साता परेको अविरल बर्षाका कारण विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा वितरित हुँदै आइरहेको खानेपानी मुहान तथा डिआइ पाइपमा क्षति गरेका कारण खानेपानी आपूर्तिमा समस्या भएको हो । 

दक्षिण एसियाकै नमुना खानेपानी आयोजना विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आपूर्ति हुँदैआएको खानेपानीको पाइप बाढीले बगाउँदा चार हजारभन्दा बढी घरधुरीमा खानेपानी समस्या भएको छ । साउन २७ र २८ गतेको लगातार दुई दिनको वर्षाले फलाखु खोलाबाट ल्याइएको जडान गरिएका १३० मिटरको पाइप बगाएपछि संस्थाले वितरण गर्दै आएको सदरमुकाम विदुर, बट्टार, पिपलटारलगायतका क्षेत्रमा खानेपानी समस्या भएको विदुर खानेपानी तथा सरसफाइ खानेपानी संस्थाका सचिव राजेन्द्र पाण्डेले वताउनुभयो । 

संस्थाले प्राविधिकसहितको टोली लिएर मुहानदेखि करिब तीन किलोमिटर तल पानीको पाइप बाढीले बगाएको स्थलगत अवलोकन र निरीक्षण गरेको छ । निरीक्षणपछि टोलीले ३५५ एमएमको पोलिथिन खानेपानी पाइप राखेर अस्थाइ रुपमा खानेपानी सञ्चालन गर्न सुझाव दिएको छ । 

पाइप, ढलान र ग्याबिन जाली बगाउँदा करिब ५० लाखभन्दा माथिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको सचिव पाण्डेले बताउनुभयो । सो स्थानमा तत्काल अस्थाइ मर्मतका लागि थोरैमा एक साता समय लाग्ने बताइएको छ । आवश्यक खर्चका लागि लगत इस्टिमेट गरी जिल्ला विपद व्यवस्थापन समिति र विदुर नगरपालिकालाई अनुरोध गर्ने निर्णय समेत गरिएको सचिव पाण्डेले बताउनुभयो ।

निरीक्षणका क्रममा फलाखु खोला मुहान सम्झौताअनुसारको संरचना निर्माण नभएको पाइएकाले तत्काल मुहान संरचना निर्माण गर्न निर्माण व्यवसायी सिको कालिका टुन्डी जेभीलाई ताकेता गरेको छ । 

खानेपानी आपूर्तिको लागि वैकल्पिक रूपमा प्रयोग हुँदैआएको बट्टार र विदुरको डिप बोरिङको खानेपानी बुधबारदेखि नै खानेपानी वितरण गरिएको संस्थाका प्रबन्धक राजकुमार तिमिल्सिनाले बताउनुभयो ।