• १३ साउन २०८१, आइतबार

युरोपको हिमालमा फहराइयो नेपालको झण्डा

blog

रसियाको माउण्ट एल्ब्रुसमा गाइड चतुरमान तामाङ (बायाँ) सँग सुशील सेर्मा (दायाँ) । तस्बिर सौजन्य : चतुरमान तामाङ

राधा लुइँटेल

फिदिम, भदौ १ गते । पाँचथरको कुम्मायक गाउँपालिका –२ मङजावुङका आरोही सुशील  सेर्माले युरोप महादेशस्थित रसियाको माउण्ट एल्ब्रुस हिमालको सफल आरोहण गर्दै शिखरमा नेपालको झण्डा फहराउनुभएको छ ।  

सेर्माले साउन ३२ गते विहान माउण्ट एल्ब्रुस हिमालको सफल आरोहण गर्नुभएको होे । सेर्माले सो हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासँगै पाँचथरकै तुम्वेवा गाउँपालिका र किरात धर्मावलम्बीले प्रयोग गर्ने ध्वजासमेत फहराउनु भयो । 

सेर्मा अगष्ट ११ मा रसिया प्रस्थान गर्नुभएको थियो । उहाँ काठमाडौंदेखि मस्का, मिनिटल्नी बोधे हुँदै आजाउ पुग्नुभएको थियो । आजाउबाट तालिमका क्रममा तेसकोल र छिकेद पिकसम्म गरेर पुनः आजाउ फर्किएपछि माउण्ट एल्ब्रुसको आरोहण गरेको उहाँले टेलिफोन सम्पर्कमा गोरखापत्रलाई बताउनुभयो ।

सेर्माको टोलीमा नेपाली गाइड चतुरमान तामाङ र रसियन गाइड डेनिससहित त्यहाँका  तीन जना क्याइम्वर गरी ५ जनाको टोली सहभागी रहुनुभएको बताइएको छ । आजाउ नजिकैको माउण्टेन हटदेखि बुधबार मध्यरात माउण्ट एल्ब्रुसका लागि प्रस्थान गरेका उनी सवा ५ बजे सफलतापूर्वक माउण्ट एल्ब्रुसको चुचुरोमा पुगेको ट्रेकिङ एजेन्सी चतुर ट्रेक एण्ड एपेण्डिचर प्रालि.का सञ्चालक चतुरमान तामाङले बताउनुभयो ।  

विश्व शान्ति, धार्मिक सहिष्णुता र आणविक शस्त्रअस्त्र निःशस्त्रीकरणको सन्देश दिने उद्देश्यसहित यो हिमाल आरोहण गरेको सेर्माले बताउनुभयो । सन् २०११ देखि आरोहण सुरु गर्नुभएका उहाँले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथासहित  लाङटाङ, आइसल्याण्ड पिक र सगरमाथाको सफल आरोहण गरिसक्नुभएको छ ।

रसियाको हिमाल आरोहणका क्रममा त्यहाँका नागरिकलाई सगरमाथा र लुम्बिनीजस्ता धार्मिक र पर्यटकीयस्थल भ्रमणको निम्तो दिएको उहाँले बताउनुभयो । शेर्माले यसपछि तान्जानियाको किलिमन्जरो हिमाल आरोहण गर्ने कार्यक्रम रहेको बताउनुभयो । 

सात वटा महादेशका ७ वटै अग्ला हिमाल आरोहण गर्दै विश्व शान्ति, मानव एकता, आणविक शस्त्रअस्त्र निःशस्त्रीकरणसँगै नेपालको पर्यटन प्रवर्धनमा भूमिका खेल्ने योजना रहेको शेर्माले सुनाउनभयो ।