• ३१ वैशाख २०८२, बुधबार

बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री

blog

दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त

दोरम्बा, साउन ३२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र बेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताउनुभएको छ । 

बिहीबार नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

देशको व्यवस्थामा परिवर्तन ल्याउने आन्दोलन, स्वाधीनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिवर्तन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उहाँले बताउनुभयो । अब माओवादी जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने प्रधानमन्त्रीको भनाइ थियो ।


प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अहिले देशमा धेरै व्यथित छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसैन कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिवर्तनका आन्दोलनमा सहभागी भएका बलिदानी को कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ ।”

निर्वाचनका बेला व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अलमलिने गरेको भए पनि अब भने बाटो पहिल्याएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुशतामा रहेको देशमा समावेशी गणतन्त्र ल्याउन त सकेउ ,तर जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन, जनताको जीवनमा परिवर्तन ल्याउन अझ संर्घष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौँ । जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्ने भनेका छौँ ।”

सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपमान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने प्रधानमन्त्रीको भनाइ छ ।


प्रधानमन्त्रीले भन्नुभयो, “हामी फेरिन चाहान्छौं जनतासँग जोडिएर, जनताको घरमा गएर देशको अवस्थाबारे जानकारी गराएर, समाजवादको नयाँ आन्दोलनको रूपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान सञ्चालन गर्छौँ, यसमा सबैको साथ समर्थन आवश्यक छ ।”

प्रधानमन्त्रीले जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफूले माओवादी जनयुद्ध, जनयुद्धका घाइते अपाङ्ग शहीद बेपत्तालाई सम्मान गर्ने नै गरेको बताउँदै प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिवर्तनका विभिन्न आन्दोलनमा शहीद बनेका माओवादी सेना, नेपाली सेना , प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहीद घोषणा गरेको बताउनुभयो । साथै, जनयुद्धलाई अमर बनाउने फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । शहीद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहीद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको प्रधानमन्त्रीले बताउनुभयो ।


प्रधानमन्त्रीले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताउनुभएको छ । उहाँले सरकारको अहिले ध्यान गेम चेन्जर आयोजनामा गएको बताउनुहुँदै भन्नुभयो, “ सरकारको ध्यान गेम चेन्जर आयोजनामा छ, केही ठुला आयोजनालाई देशको विकासलाई नयाँ युग तर्फ लैजाने गरी गेम चेन्जर आयोजनाको रूपमा परिवर्तन गर्छौँ ।”

हिजो अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत ४० देखि ५० लाख अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडेर समाजवादको भ्रूण रोपेको उहाँले बताउनुभयो । यो अभियानले जनतामा समानता र सबै नागरिकको भविष्य सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको यो अभियानमा सरकारलाई साथ दिन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

यो पनि पढ्नुहोस

प्रधानमन्त्री प्रचण्ड रामेछापमा