• ५ जेठ २०८१, शनिबार

संस्कृत विश्वविद्यालयको ताला खुल्यो

blog

संस्कृत विश्वविद्यालयको भवन ।

गोकर्ण पौडेल 

तुलसीपुर, साउन ३१ गते । नेपाल संस्कृत विश्वविद्यालयमा विभिन्न विद्यार्थी सङ्घ सङ्गठनले लगाएका ताला खुलेको छ ।  स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घले विभिन्न मागहरू राख्दै तालाबन्दी गरेका थिए । 

संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय, आयुर्वेद केन्द्रीय विद्यापीठ, आयुर्वेद अध्ययन संस्थानमा लगाएका ताला खुले पनि सेवा आयोगमा लगाइएको ताला भने खुलेको थिएन । नेपाल संस्कृत विश्वविद्यालय र तालाबन्दी गर्ने नेपाल विद्यार्थी सङ्घको वार्ता टोलीबीच बुधबार भएको सहमतिअनुसार ताला खुलेको हो । 

सहमतिअनुसार सेवा आयोगले गरेको विज्ञापनको परीक्षाको सम्पूर्ण जिम्मेवारी लोक सेवा आयोगलाई दिने सहमति गरेको छ । विश्वविद्यालय सेवा आयोगले २०७८ चैत २६ गते शिक्षक तथा कर्मचारीका विभिन्न पदमा विज्ञापन आह्वान गरेको थियो । नेपाल विद्यार्थी सङ्घले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको परीक्षामा आंशका रहेको भन्दै २०८० असार ९ गते तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण शिक्षक तथा कर्मचारीतर्फका परीक्षाहरू स्थगन भएका थिए ।  

वार्ता टोलीमा विश्वविद्यालयको तर्फबाट सचिव माधव अधिकारी र नेपाल विद्यार्थी सङ्घ दाङका सभापति कुलराज पोख्रेल रहनुभएको वार्ता समितिका सदस्य विश्वविद्यालयका सुरजकुमार लामाले जानकारी दिनुभयो । केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियन केन्द्रले असार ३ गते केन्द्रीय कार्यालयमा लगाएको ताला साउन १९ गते ५५ दिनपछि खोलेको थियो ।