• १३ पुस २०८२, आइतबार

गोरखापत्रकर्मी हमाल र मिश्रलाई ललितपुर महानगरको सम्मान

blog

गोरखापत्रका पत्रकार चाँदनी हमाल र आशिषकुमार मिश्रलाई बधाई दिनुहुँदै ललितपुर महानगरका प्रतिनिधि इन्द्र बज्राचार्य ।

काठमाडौँ, साउन ३१ गते। गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाल र द राइजिङ नेपालका पत्रकार आशिषकुमार मिश्रले ‘इयू मानव अधिकार पत्रकारिता पुरस्कार–२०२३’ प्राप्त गरेकोमा ललितपुर महानगरपालिकाले सम्मानसहित बधाई दिएको छ।

बुधबार गोरखापत्र संस्थानमै आएर दुई पत्रकारलाई महानगरले सम्मान गरेको हो। महानगरका प्रमुख चिरिबाबु महर्जनका तर्फबाट महानगरका प्रतिनिधि इन्द्र बज्राचार्यले पत्रकार हमाल र मिश्रलाई बधाई दिनुभएको हो।

गोरखापत्र दैनिकमा कार्यरत पत्रकार चाँदनी हमाललाई उहाँले युवामञ्चमा लेख्नुभएको ‘हटेन बालविवाह’ शीर्षकको खोजमूलक आलेखको लागि सो पुरस्कार प्रदान गरिएको हो।जसमा जनसाङ्ख्यिक  विश्लेषण गर्दै नेपालमा बाल विवाहको अवस्थितिको यथार्थता देखाइएको छ।

यस्तै आशिषलाई काठमाडौँको कपाली समुदायको घरबारविहीनताका बारेमा लेखिएको आलेखका लागि पुरस्कार दिइएको हो।युरोपियन युनियनले पुरस्कारको प्रतिस्पर्धाका लागि मानवअधिकारका सम्बन्धमा लेखिएका उत्कृष्ट खोजमूलक समाचारको आह्वान गरेको थियो।

इयुको छनौट समितिले हमाल र मिश्रसहित कैलालीकी उन्नति चौधरीसमेत तीन जना पत्रकारको समाचार उत्कृष्ट ठहराउँदै अवार्ड दिने घोषणा गरेको थियो।पुरस्कृत पत्रकारलाई आगामी महिना बेल्जियमसहित युरोपका विभिन्न देशको भ्रमण गर्ने अवसर प्रदान गर्ने नेपालस्थित इयुको कार्यालयले जनाएको छ।