• ९ मंसिर २०८१, आइतबार

विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेसिया सरकारको आह्वान

blog

इण्डोनेसिया, साउन ३१ गते । वायु प्रदूषण बढेसँगै इण्डाेनेसिया सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ । मङ्गलबार इण्डोनेसियाका उद्यममन्त्री एरिक थोहिरले देशमा वायु प्रदूषण अत्यधिक बढेको भन्दै नागरिकहरुलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गर्नुभएको हो । उहाँले सरकारले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको बताउनुभयो ।

कोइला र परम्परागत इन्धनबाट चल्ने सवारीसाधनको प्रयोगका कारण वायु प्रदूषणमा सबैभन्दा ठूलो असर परेको सरकारले बताएको छ । इण्डोनेसिया सरकारले वायु प्रदूषण कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जा रहेको बताएको छ ।

इण्डोनेसियाली उद्यममन्त्री एरिक थोहिरले भन्नुभयो, ‘‘जकार्तामा हाल वायु प्रदूषण उच्च भएको छ । यो द्वीपसमूह देशमध्येकै सबैभन्दा खराब हो । यसका कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनहरु र उद्योगधन्दाहरु हुन् । त्यसैले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गर्छु । वायु प्रदूषणलाई कम गर्ने एउटै माध्यम भनेको विद्युतीय उर्जाको प्रयोग बढाउनु हो, त्यसैले सरकार परम्परागत इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित गरी विद्युतीय सवारीसाधनमा जोड दिइरहेको छ ।’’

जकार्ता र नजिकका अन्य शहरमा गत हप्ता वायुको गुणस्तर सबैभन्दा नराम्रो रहेको थियो । इण्डोनेसियाका राष्ट्रपति जो विडोलले गत सोमबार र आइतबारसम्म राजधानीको वायु गुणस्तर सूचकाङ्क १५६ रहेको बताउनुभएको थियो । जो वातावरणका लागि स्वस्थकर मानिँदैन ।