• १ जेठ २०८२, बुधबार

सन्दर्भ हात्ती दिवस

नसर्ने रोगबाट हात्ती जोगाउन चुनौती

blog

चितवन, साउन २८ गते । हात्तीमा हुने गरेको नसर्ने रोगबाट बचाउनका लागि चुनौती थपिएको छ । केही वर्षअघिसम्म क्षयरोगबाट ग्रसित हुने गरेका चितवनका हात्ती अहिले नसर्ने रोगले चुनौती थपिएको हो । 

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशुचिकित्सक विजय श्रेष्ठले भन्नुभयो, “सरकारी र निजी हात्तीमा अहिले क्षयरोगको समस्या देखिएको छैन । नसर्ने रोग जस्तै घाउ चोटपटक, माटो खाएर खाना नपच्ने जस्ता समस्या रहेको छ ।” खानाका लागि जङ्गल जाने आउने गर्दा रुखमा ठोक्किएर, काँडा तथा तिखा सामग्रीले पु-याउने चोट हात्तीका लागि कठिन हुने गरेको छ । चार हजार किलोग्रामको शरीर भएकाले भार धेरै हुन्छ र घाउ निको बनाउन धेरै समय लाग्ने गरेको छ । 

बासस्थान मासिँदै 

हात्ती प्रजनन केन्द्र रहेको चितवनमा सरकारी हात्ती ६० वटा छन् । निजी हात्ती ३० वटा छन् । यी हात्तीका लागि आवश्यक पर्ने चरन जङ्गल हो । सरकारी हात्ती निकुञ्जभित्र जङ्गलमा जाने गरे पनि निजी भने मध्यवर्ती क्षेत्रमा लगिन्छ । ठुलो शरीर भएकाले धेरै आहारा आवश्यक पर्ने भएकाले ठुलो चरन क्षेत्र हुनुपर्छ । मानिसको चाप वृद्धि, विकासको पूर्वाधार बढ्नेलगायतका कारण जङ्गल विनाश हुँदै जाँदा हात्तीको बासस्थान माथिको अतिव्रmमण बढेको चिकित्सक श्रेष्ठले बताउनुभयो । हात्ती, बाघ, जरायोलगायतका जनावरका लागि चितवन निकुञ्ज उपयुक्त भए पनि जङ्गलमाथि मानवको चाप पर्दा जनावरको बासस्थानमाथि हरेक वर्ष चुनौती थपिँदै गएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । मानव र वन्यजन्तुबिचको द्वन्द्वलाई कमी गर्दै लैजानुपर्ने अवस्था रहेको बताउनुभयो । 

निजी हात्ती पाल्नै समस्या 

तीन वर्षअघि चितवनको सौराहामा निजी क्षेत्रका ६८ वटा हात्ती थिए । कोरोना महामारीका कारण पर्यटकको सङ्ख्यामा आएको कमी र हात्तीको दानापानी पु-याउन नसक्ने भएपछि अहिले ३० वटामा झरेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले भन्नुभयो, “पर्यटक आउँदैनन्, कमाइ छैन कसरी हात्ती पाल्ने ? पाल्नै नसक्ने भएपछि धमाधम बिक्री गरिएको हो । पर्यटक घटेपछि मध्यवर्ती क्षेत्रमा सफारीका लागि जाने हात्ती घटेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनुभयो । सौराहा क्षेत्रमा सबैभन्दा धेरै हात्ती सफारी गर्ने सामुदायिक वन बाघमारा हो । “यहाँ तीन वर्षअघि बिहान दुई दर्जन र बेलुका दुई दर्जन हात्ती सफारीका लागि जाने गरेका थिए तर अहिले मुस्किलले १० वटा मात्रै जाने गरेको छ,” अध्यक्ष तामाङले बताउनुभयो । सौराहा र निकुञ्ज आसपास घुम्न आएका पर्यटक हात्ती सफारी गर्न रुचाउँछन् । 

हात्तीलाई भोज

हात्ती दिवसका अवसर पारेर सौराहामा निजी तथा सरकारी हात्तीलाई शनिबार भोज खुवाइएको छ । ‘हात्तीको संरक्षण गरौँ, प्रकृतिको वरदान हात्तीको सुरक्षा’ नाराका साथ हात्ती दिवस मनाइएको हो । चितवनको पर्यटन व्यवसायी, संरक्षणकर्मी, चितवन राष्ट्रिय निकुञ्ज, युनाइटेड हात्ती सहकारी लिमिटेडको संयुक्त आयोजनामा भोज खुवाएर दिवस मनाइएको हो । हात्ती दिवसका अवसरमा हात्तीको संरक्षणको विषयमा देखिएको चुनौतीबारे चर्चा गरिएको थियो । शनिबार हात्तीलाई निजी र सरकारी दुवैले कुनै काममा लगाएका छैनन् । 

Author

शालिग्राम नेपाल