काठमाडौँ, साउन २२ गते । संवैधानिक परिषद्ले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । परिषद्ले सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा नाम पठाएको हो । परिषद्को पत्राचार अनुसार समितिले प्रारम्भिक बैठक मङ्गलबार बोलाउने तयारी गरेको छ । उक्त बैठकबाट प्रक्रिया थालनी गर्दै श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने तयारी छ ।
सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले प्रस्तावित प्रधान न्यायाधीशको नाम सुनुवाइका लागि प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुनुवाइका लागि पत्राचार भइसकेको छ । समितिले सम्भवतः मङ्गलबारबाट प्रक्रिया आरम्भ गर्ने छ ।”
साउन १९ गते परिषद्ले प्रधान न्यायाधीशमा सर्वोच्चका वरिष्ठतम् न्यायाधीश श्रेष्ठको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । वरिष्ठताका आधारमा श्रेष्ठ प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको थियो । संसदीय सुनुवाइबाट अनुमोदन भई नियुक्त भएमा उहाँको कार्यकाल २०८१ असोज २० गतेसम्म हुने छ । समितिले अब प्रारम्भिक बैठकबाट उहाँविरुद्ध उजुरी आह्वान गर्ने छ । उजुरी प्राप्त भएमा समितिले उजुरीकर्तासँग छलफल गर्ने छ । समितिले आवश्यकताका आधारमा उपसमितिसमेत बनाएर छलफल गर्न सक्ने व्यवस्था छ ।
उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्ने छ । सङ्घीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्ने छ । ४५ दिनभित्र निर्णय नभएमा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था नियमावलीमा छ । सो समयसीमा पहिलो बैठक बसेको मितिबाट सुरु हुने छ ।