• १३ साउन २०८१, आइतबार

प्रभावहीन बन्यो पाडा प्रवर्द्धन कार्यक्रम

blog

तिलाचन पाण्डे

तम्घास, साउन २१ गते । गुल्मीको रेसुङ्गा नगरपालिकामा पाडा प्रवर्द्धन कार्यक्रमको लगानी बालुवामा पानीसरह भएको छ ।  

नगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ को सङ्घीय ‘पाडा प्रवर्द्धन’ कार्यक्रममा कृषक र सरकारको ५०-५० साझेदारीमा नगरको १० र कृषकको १० लाख बजेटमा ल्याइएका ५० वटा पाडाहरू मरेपछि  सो कार्यक्रम बालुवामा पानी हालेसरह भएको हो । 

यो कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिका ११ का तिलबहादुर बुचा र वडा नं १२ का नेत्र बस्नेत दुई जनाले मात्रै प्रस्ताव पेस गरेकाले कृषक र सरकारको ५०-५० साझेदारीमा नगरको १० र कृषकको १० लाख बजेटमा कपिलवस्तुको बहादुर गन्ज गएर पाडा खरिद गरी २५-२५ पाडा पाएपछि दुवै कृषकका गोठ भरियो । असार ०७९ मा वितरण भएका पाडामा कात्तिकदेखि बिरामी पर्न थालेपछि सबै पाडा फागुनमा मरेर सकिए । 

पाडा खरिद र गोठ सुधार तथा निर्माणमा ५०-५० प्रतिशत साझेदारी हो । पाडा खरिदमा १०-१० गरेर २० लाख तथा गोठ निर्माण तथा सुधारमा पाँच-पाँच गरेर १० लाख गरेर ३० लाख खर्च भएको छ । ढुवानी, दाना र औषधिमा समेत नगरले रकम खर्च गरेको छ । एउटा पाडाको २७ देखि ३५ हजार मूल्य परेको छ । 

जिल्लामा लुम्बिनी प्रदेश सरकार अन्तरगतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र छ । दुई जना डाक्टर र प्राविधिक कार्यरत छन् । तर, ठुलो सङ्ख्यामा पाडा खरिद गर्दा नजिकैको स्थानीय सरकारले समन्वय नै नगरेको कार्यालयले जनाएको छ । पाडा बिरामी भएर मर्न थालेपछि इन्सोरेन्स दाबीको प्रमाणका लागि मात्रै विज्ञ केन्द्रलाई खबर आएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताउनुभयो । 

कृषकले प्रत्येक पाडाको ४० हजारका दरले अजोड इन्स्योरेन्समा इन्स्योरेन्स गरेका थिए । अजोड इन्स्योेरेन्स गुल्मीका प्रमुख सन्तोष न्यौपाने कृषकको फर्ममा पशु प्राविधिक सहित पुगेको र  पशु मरेको तीन दिनमा कम्पनीलाई खबर गरेको बताउनुभयो ।